नेपाल पत्रकार महासंघ निर्वाचन : केन्द्रिय पदाधिकारी र सदस्यमा बाराका तीन पत्रकारको मनोनयन दर्ता
५२ सदस्यीय केन्द्रीय समितिका लागि १३३ जनाको उम्मेदवारी (सूची)
वि.सं.२०८१ मंसिर २१ शुक्रवार २२:११
बारा–नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि २८ मंसिरमा हुने निर्वाचनका लागि केन्द्रिय पदाधिकारी र सदस्यको शुक्रबार मनोनयन दर्ता भएको छ ।
महासंघको नेतृत्वका लागि सत्तारुढ र विपक्षी गठबन्धनसहित असन्तृष्ट समूहले अलगअलग प्यानल र व्यक्तिगत रुपमा समेत मनोनयन दर्ता गराएका छन् ।
महासंघको केन्द्रमा पदाधिकारी र सदस्य गरि बाराका तीन जना पत्रकार मैदानमा उत्रिने भएका छन् । उपाध्यक्ष (समावेशी), केन्द्रिय सदस्य (मधेस प्रदेश) र केन्द्रिय सदस्य (दलित) पदमा बाराका तीन जना पत्रकारको मनोनयन दर्ता भएको छ ।
महासंघको निर्वाचन समिति शुक्रबार राती ८ः०० बजे सार्वजनिक गरेको उम्मेदवारको प्रथम नामावली अनुसार उपाध्यक्ष (समावेशी) मा शुभाष साह, केन्द्रिय सदस्य (मधेस प्रदेश) बाट गुरुप्रसाद गौतम र केन्द्रिय सदस्य (दलित) पदमा सिकेन्द्र पासवानको उम्मेदवारी परेको हो ।
समाजवादी प्रेस संगठनका साहलाई प्रेस सेन्टर, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्चको समर्थन रहेको छ । उनी यसअघिको विपुल पोखरेल नेतृत्वको समितिमा केन्द्रिय सदस्य (मधेस) थिए ।
केन्द्रिय सदस्य (मधेस प्रदेश) मा उम्मेदवार दिएका गौतम प्रेस युनियनमा आवद्ध छन् । नेपाल युनियन युनियन र प्रेस चौतारी नेपालले साझा प्यानलमा नपरेका गौतमले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनी नेपाल पत्रकार महासंघ मधेसका पूर्व सचिव तथा बाराका पूर्व अध्यक्ष हुन् । २०७७ मा भएको निर्वाचनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका उनले संगठनको अनुरोधमा अन्तिममा फिर्ता लिएका थिए ।
त्यस्तै नेपाल युनियन युनियन र प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य (दलित) पदका साझा उम्मेदवार पासवानको पत्रकार महासंघ मधेसका पूर्व सदस्य हुन् । उनी प्रेस युनियनमा आवद्ध छन् ।
नेपाल युनियन युनियन र प्रेस चौतारी नेपालबीच भएको सहमति अनुसार बारा जिल्लाको नेतृत्व प्रेस युनियनले गर्ने जनाईको छ ।
५२ सदस्यीय केन्द्रीय समितिका लागि १३३ जनाको उम्मेदवारी
महासंघको ५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि १३३ जनाको उम्मेदवारी परेको छ । महासंघको निर्वाचन कार्यतालिका अनुसार शुक्रबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समयसिमा तोकिएकोमा उक्त समयसिमा भित्र ४७ पदका लागि १३३ जनाको उम्मेदवारी दर्ता भएको हो ।
सूची अनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ । गिरी प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यालनबाट उम्मेदवारी दिएका हुन् भने शर्माले प्रेस चौतारी सहितको प्यानलबाट उम्मेदवारी दिएकी हुन् । यस्तै बिष्टले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
यस्तै बरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाई, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोसन पुरीसहित ४ जनाको उम्मेदवारी परेको छ । चौलागाई चौतारी नेतृत्वको प्यानलका उम्मेदवार हुन् भने पुरी प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन् ।
यस्तै उपाध्यक्ष महिलामा गंगा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ । बराल प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन् भने पण्डित चौतारी नेतृत्व प्यानलका उम्मेदवार हुन् । यस्तै महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ । जसमा दाहाल चौतारी नेतृत्वको प्यानलबाट उम्मेदवार हुन् भने न्यौपाने सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन् ।
सूची
वि.सं.२०८१ मंसिर २१ शुक्रवार २२:११