नेपाल मेडिकल कलेज जाेरपाटीको एकेडेमिक डाइरेक्टरमा डा. अन्सारी नियुक्त
वि.सं.२०८२ साउन २८ बुधवार १९:३६

काठमाडौं-काठमाडौंकाे गोकार्णेश्वर नगरपालिका-८, जोरपाटीको अत्तरखेलमा रहेर उच्चस्तरीय स्वास्थ्य शिक्षा र चिकित्सा सेवा प्रदान गर्दै आएको नेपाल मेडिकल कलेजले नयाँ एकेडेमिक डाइरेक्टर नियुक्त गरेकाे छ ।
मेडिकल कलेजले एकेडेमिक डाइरेक्टरका रूपमा अनुभवी चिकित्सक तथा शिक्षाविद् डा. नुसरत जहाँ अन्सारी एमबीबीएसलाई नियुक्त गरेको छ ।
कलेज सञ्चालक समितिको निर्णयअनुसार डा. अन्सारीले औपचारिक रूपमा आफ्नो पदभार सम्हालेका छन् ।
नव नियुक्त अन्सारीलाई बुधबार कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी, प्रबन्ध निर्देशक डा. सबिहा यासमिन र प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठाले स्वागत गर्दै पदभार ग्रहण गराएका छन् ।
कार्यक्रममा कलेज प्रशासन, संकाय सदस्य, चिकित्सक तथा विद्यार्थीहरूले पनि उहाँलाई बधाई र शुभकामना व्यक्त गरेका थिए ।
कलेज अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले डा. नुसरतको नियुक्ति कलेजको शैक्षिक र व्यवस्थापकीय क्षेत्रमा महत्वपूर्ण मोड हुने विश्वास व्यक्त गर्दै भने, “डा. नुसरतले आफ्नो अनुभव, दृष्टिकोण र नेतृत्व क्षमताबाट कलेजको शैक्षिक स्तरलाई नयाँ उचाइमा पुर्याउनेछन् ।”
पदभार ग्रहणपछि डा. अन्सारीले कलेजको शैक्षिक गुणस्तर, अनुसन्धान क्षमता र विद्यार्थीमैत्री वातावरणलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
मेडिकल शिक्षा केवल पाठ्यक्रममा सीमित नभई व्यवहारिक दक्षता, अनुसन्धान र मानवता–केन्द्रित सेवा प्रवद्वनमा केन्द्रित गरेर अगाडि बढ्ने डा. अन्सारीको भनाई छ ।
नेपाल मेडिकल कलेजले हालका वर्षहरूमा शैक्षिक र पूर्वाधार विस्तारमा तीव्र गति लिएको छ ।
नयाँ नेतृत्वको आगमनसँगै कलेजले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो शैक्षिक प्रतिष्ठा अझ मजबुत पार्ने अपेक्षा गरिएको छ ।
वि.सं.२०८२ साउन २८ बुधवार १९:३६
















