ढुलमुल गर्दा गर्दै बाराका प्रदेश सांसद सुन्दर–सीताले ओलीलाई रोजे
वि.सं.२०७८ भदौ १७ बिहीवार १९:४३
बारा : प्रदेश २ का दुई जना सांसद सुन्दर विश्वकर्मा र सीता गुरुङले माधव कुमार नेपाललाई धोका दिएका छन् ।
नेकपा (एमाले) को अन्तरसंघर्षका बेला नेता नेपाललाई साथ दिएका बाराका यी दुवै सांसदले केपी ओली नेतृत्वको नेकपा (एमाले) राजेका छन् । नेता नेपालको साथ छाड्दै उनीहरुले एमालेमै बस्ने निर्णय लिएका हुन् ।
ढुलमुले शैली
विश्वकर्मा बाराको ४ क बाट निर्वाचित भएका हुन् भने गुरुङ समानुपातिक सांसद हुन् । बारा १ क बाट निर्वाचित त्रिलोकी प्रसाद चौधरीले ओलीलाई साथ दिदै आएका छन् ।
सांसद विश्वकर्मा पार्टी जिल्ला अध्यक्ष समेत हुन् । अन्तरसंघर्षका बेलामा समेत कहिले माधव र कहिले केपी समुहमा देखिदै आएका उनीहरुले पार्टी विभाजन अघिसम्म नेपाललाई साथ दिएका थिए । नेता नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएपछि ढुलमुल गर्दै आएका उनीहरुले सनाखत गर्ने दिन धोका दिएका हुन् ।
जनकपुरधामस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा प्लेन चढेर आउँछौं भनेका उनीहरुले मौसमका कारण आउन नसकेको बताएका थिए । तर दुई सांसद वीरगञ्जमा आयोजित नेकपा एमालेको प्रदेशस्तरीय बैठकमा सहभागी भएको सार्वजनिक भएको छ ।
मन्त्री बन्ने चर्चा
केन्द्रीय सत्ता गठबन्धनसंगै प्रदेश २ सरकारमा समेत नेकपा (एकीकृत समाजवादी) सहभागि हुने तयारी भईरहँदा सांसद विश्वकर्माको मन्त्री बन्ने चर्चा चलेको थियो ।
प्रदेश २ मा एमालेमा माधव नेपाल पक्षका १३ सांसद थिए । तर १० जना मात्रै उपस्थित भएर सनाखत गरेका छन् । विश्वकर्मा र गुरुङले एमाले रोजेका छन् भने सांसद डिल्लीप्रसाद उप्रेती उपचारका लागि भारतको दिल्लीमा छन् ।
‘पार्टी विभाजनलाई साथ दिन सकेनौं’
दुवै जना सांसदले सञ्चारमाध्यमलाई एमालेमै बस्ने प्रतिक्रिया दिएका छन् । ‘लामो समयदेखि यही पार्टीबाट राजनीति गर्दै आएका छौं,’ उनीहरुले भने, ‘अब पनि यहीं बसेर राजनीति गर्छौं ।’ अन्तरसंघर्षका बेला नेता नेपाललाई साथ दिएको भए पनि पार्टी फुटाउन साथ दिन नसकिने बताएका छन् ।
गत चैतमा एमाले संसदीय दलका नेताबाट अध्यक्ष केपी शर्मा ओली निकट सत्यनारायण मण्डललाई हटाएर माधव पक्षीय शत्रुधन महतोलाई बनाउन दुवै सांसदले हस्ताक्षर गरेका थिए ।
यी हुन सनाखत गर्ने सांसद
समाजवादीको पक्षमा १० जनाले सनाखत गरेका छन् । शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रविन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तवले भने बिहीबार एकीकृत समाजवादी रोजेर सनाखत गरेका छन् ।
वि.सं.२०७८ भदौ १७ बिहीवार १९:४३