skip this

श्रीमानको कुटपिटपछि मृत्यु घटनाप्रति मेची–महाकाली बुहारी संयुक्त आवाजको भर्त्सना

114 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको निजगढ नगरपालिका–१२, रामथलीमा घरेलु विवादका क्रममा कुटपिटमा परेकी एक महिलाको मृत्यु भएको घटनाप्रति मेची–महाकाली बुहारी संयुक्त आवाज, बारा जिल्ला कार्यसमितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रहरीका अनुसार असोज २१ गते बिहान करिब ८ बजे स्थानीय ५५ वर्षीय विजय मोक्तानले घरायसी विवादका क्रममा आफ्नी ४७ वर्षीया श्रीमती सुकुमाया मोक्तानलाई कुटपिट गरेका थिए। कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायाको स्थानीय मेडिकलबाट स्वास्थ्यकर्मी बोलाएर घरमै स्वास्थ्य परीक्षण तथा औषधि उपचार गरिएको थियो।

उपचारपछि सोही दिन राति खाना खाएर सुत्न गएकी सुकुमाया भोलिपल्ट बिहान नउठेपछि श्रीमान् विजय मोक्तानले छिमेकीलाई खबर गरेका थिए। घटनाबारे जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट रतनपुरबाट खटिएको प्रहरी टोलीले सुकुमायाको मृत्यु भएको पुष्टि गरेको थियो। प्रहरीले घटनापछि विजय मोक्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

महिलाको मृत्यु कुटपिटकै कारण भएको हो वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा आवश्यक परीक्षण तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस घटनाप्रति प्रतिक्रिया जनाउँदै मेची–महाकाली बुहारी संयुक्त आवाज, बारा जिल्ला कार्यसमितिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको घोर भर्त्सना तथा निन्दा गरेको छ। संस्थाकी अध्यक्ष चन्द्रिका पुलामी मगरद्वारा जारी विज्ञप्तिमा महिलामाथि हुने कुनै पनि प्रकारको हिंसा, कुटपिट तथा अमानवीय व्यवहार सभ्य समाजका लागि अस्वीकार्य रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा घरेलु विवादका नाममा महिलामाथि हुने हिंसालाई सामान्य रूपमा लिने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिँदै घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरिएको छ। साथै, मृतक सुकुमाया मोक्तानप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

संस्थाले पीडित परिवारलाई न्याय, सुरक्षा तथा आवश्यक सहयोगको व्यवस्था गर्न नेपाल सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

nijgadh-supermart-adz1200-630