उपत्यकामा असोज १ देखि विद्यालय खोल्ने तयारी
वि.सं.२०७८ भदौ २१ सोमवार १८:१६
काठमाडौं : काठमाडौं जिल्लामा असोज १ गतेदेखि विद्यालय खुलाउने तयारी भएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरोकारवालाको बैठकले स्थानीय तहमा कोरोना संक्रमण र जोखिमको अवस्थाबारे जानकारी लिने र त्यस आधारमा विद्यालय खुलाउन अनुमति दिने निर्णय गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालका अनुसार भदौ मसान्तसम्म स्थानीय तहका शिक्षा शाखाले कोभिड-१९ संक्रमणको अवस्था, शिक्षक-कर्मचारीले खोप लगाए नलाएको विवरण र विद्यालय सञ्चालनको ढाँचा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मा पेश गर्नुपर्नेछ ।
त्यसको आधारमा डीसीसीएमसीले विद्यालय खुलाउने अनमुति दिने उनले जानकारी दिइन् ।
सोमबारको बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारी, काठमाडौंका स्थानीय तहका शिक्षा समितिका अधिकृत, जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख, सुरक्षा अधिकारी र अभिभावक प्रतिनिधि सहभागी थिए । ‘सम्बन्धित स्थानीय तहबाट कोभिड-१९ संक्रमणको अवस्था र विद्यालय सञ्चालनको ढाँचा आएपछि सोही आधारमा विद्यालय खुला गर्ने अनुमति पाउनेछन्,´ उने भनिन्- सबैले खोल्नैपर्छ भन्ने अनिवार्यता छैन । ’
सामान्य अवस्था भएमा स्वास्थ्य मापदण्ड पालना गरेर हरेक स्थानीय तहलाई विद्यालय सञ्चालनका लागि डीसीसीएमसीले अनुमति दिनेछ ।
वि.सं.२०७८ भदौ २१ सोमवार १८:१६