एमसीसी उपाध्यक्षविरुद्ध प्रदर्शन गर्न खोजेको आरोपमा ५४ जना पक्राउ

483 shares

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको विरोधमा प्रदर्शन गर्न खोजेको आरोपमा ५४ जना पक्राउ परेका छन् ।

अधिवक्ता स्वागत नेपाल, नीर्घ जैसीलगायतका व्यक्तिहरु पक्राउ परेका हुन् । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एक अधिकृतका अनुसार अनुसार उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालस्थित अमेरिकी राजदूतावास बाहिर र कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो ।

उपाध्यक्ष सुमारको नेपाल भ्रमणका बेला प्रदर्शन, कालो झण्डा देखाउने जस्ता गतिविधि हुनसक्ने भन्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको थियो । त्यसक्रममा एमसीसी विरोधी अभियान चलाउनेहरुलाई सुमार काठमाडौं आइपुग्नु अगावै पनि पक्राउ गरिएको थियो ।

सुमार फर्किएपछि पक्राउ परेकाहरुलाई पनि छाडिने प्रहरी स्रोतले बतायो । बिहीबार बिहान ९ः२० बजे काठमाडौं आइपुगेकी सुमारले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधकुमार नेपाललाई भेटिसकेकी छन् ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’, उर्जामन्त्री पम्फा भुसालसहित सत्तारुढ गठबन्धनका नेताहरुलाई भेट्ने कार्यक्रम छ ।