छठ पर्वको आज दोस्रो दिन, ‘खरना विधि’ पूरा गरिँदै
वि.सं.२०७८ कात्तिक २३ मंगलवार ०८:००

काठमाडौँ : छठ पर्वको आज मंगलबार दोस्रो दिन । छठको दोस्रो दिनलाई ‘खरना’ भनिन्छ ।
छठका व्रतालुहरूले आज नुहाएर चोखो भइ साँझपख खीर बनाएर चन्द्रमालाई चढाउँछन् । चन्द्रमालाई चढाएपछि खीर तथा लौकाको तरकारी व्रतालुले भोजनको रूपमा ग्रहण गर्दछन् ।
आज सबै व्रतालुहरूले बिहानदेखि निर्जला भएर बेलुकी एक छाक मात्र भोजन गर्दछन् ।सोमबारदेखि व्रत बसेका व्रतालुले सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदीको भोजन गर्दैनन् ।
यो चार दिन व्रतालुले सात्विक भोजन मात्र गर्दछन् । कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ ।छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ ।
देवी भागवत्मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ ।
छठलाई एउटा कठिन व्रत र उपवासको रूपमा हेरिन्छ ।
छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास रही आएको छ ।कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य चढाइ छठ पर्वको व्रतलाई समापन गरिन्छ ।
वि.सं.२०७८ कात्तिक २३ मंगलवार ०८:००

















