बालुवाटारमा जारी चार दलको बैठकमा थपिए अरू तीन दल
वि.सं.२०७९ फागुन १२ शुक्रवार १९:१५

काठमाडौं-बालुवाटारमा जारी चार दलको बैठकमा अरू तीन दल पनि थपिएका छन्।
बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि थपिएका हुन्। बालुवाटारमा कांग्रेस, माओवादीसहित सात दलको बैठक जारी छ।
यसअघि चार दलबीच बैठक जारी रहेता पनि अरू तीन दल पनि आएका हुन्।
संयुक्त बैठकअघि प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो।
बालुवाटारमा उनीहरूबीच राष्ट्रपति निर्वाचनलगायत विषयमा आज अपराह्न करिब दुई घन्टा छलफल भएको थियो।
ओलीले गत पुस १० गतेको सहमतिअनुसार नै अघि बढ्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए। पुस १० मा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुअघि राष्ट्रपति एमालेलाई दिने सहमति भएको एमाले नेताहरूको दाबी छ।
प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्नुपर्ने अडान राखेको स्रोतको भनाइ छ।
एमाले अध्यक्ष ओली बालुवाटारबाट निस्केपछि नेपाली कांग्रेसलगायत दलका नेताहरू बालुवाटार प्रवेश गरेका थिए।
आज बिहान पनि कांग्रेससहित चार दलका नेताले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए। राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल गरी निर्णय लिन अपराह्न ५ बजेका लागि बैठक राखिएको थियो।
कांग्रेसले चुनावअघिको गठबन्धन ब्युँताउन खोजेको छ। यसमा माओवादीलगायत दलहरू पनि सहमति नजिक पुगेका छन्। कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीले राष्ट्रपति उम्मेदवारमा सहमति र शक्ति बाँडफाँटलगायत विषयमा पनि आजै सहमति गर्ने तयारी गरेका छन्।
राष्ट्रपति कांग्रेसले लिने र नेकपा एकीकृत समाजवादीलाई एक वर्ष प्रधानमन्त्री दिने विषयमा दलहरू सहमति नजिक पुगेको नेताहरूले बताएका छन् भने जसपालाई उपराष्ट्रपति दिने विषयमा छलफल भएको छ।
शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ। त्यसैले दलहरूले आजै सहमति गर्ने गरी छलफललाई तीव्रता दिएका छन्।
वि.सं.२०७९ फागुन १२ शुक्रवार १९:१५
















