शैक्षिकसत्र अगावै विद्यार्थीका हातमा पुस्तक पुग्नु सरकारको उपलब्धी हो: नेता पौडेल
वि.सं.२०८० वैशाख १० आइतवार ०७:१५

बागलुङ- नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिकसत्रको सुरुमै विद्यार्थीका हात–हातमा पुस्तक हुनु सरकारको मुख्य उपलब्धी रहेको बताएका छन्।
आफू शिक्षामन्त्री भएको नौ महिनामा नेपालका धेरै विद्यालयमा पूर्वाधार निर्माण भएको भन्दै अबको आवश्यकता शैक्षिक सुधार रहेको दावी गरे।
शनिबार बागलुङ नगरपालिका- ९ तित्याङ र बागलुङ नगरपालिका- १० भकुण्डे जोड्ने रिठ्ठेखोला झोलुङ्गे पुलको उद्घाटनपछि बोल्दै पौडेलले समग्र बागलुङको विकासका लागि आफू खटिएको बताए।
उनले शैक्षिकसत्र सुरु भएको छ महिना बित्दासमेत विद्यार्थीका हातमा पुस्तक नपुग्ने समस्या सधैका लागि अन्त्य भएको बताउँदै जनक शिक्षा सामग्रीलाई परिमार्जन गर्नुको विकल्प नभएको बताए।
‘हाम्रै पार्टीको सरकार छ, अहिले शैक्षिकसत्र अगावै विद्यार्थीका हातमा पुस्तक पुग्नु सरकारको उपलब्धी हो’, संघीय सांसदसमेत रहेका पौडेलले भने, ‘आफू शिक्षामन्त्री हुँदा जनक शिक्षा सामग्रीमा नयाँ छपाइ औजार ल्याएकाले सम्भव देखिएको हो।’
नेता पौडेलले अहिलेको सरकारले सुशासन, रोजगारी सिर्जना र भौतिक संरचनालाई प्राथमिकता दिएर बजेट निर्माणको तयारीमा लागेको पनि बताए।
सामुदायिक विद्यालय सुधार योजना अहिले कार्यान्वयन भइरहेको बताउँदै पूर्वमन्त्री पौडेलले अब भौतिक पूर्वाधारपछि गुणस्तरीय शिक्षाको विकासमा अहिलेको सरकार लाग्नुपर्ने आफूले सुझाव दिएको उल्लेख गरे।
वि.सं.२०८० वैशाख १० आइतवार ०७:१५

















