निजगढ नगरपालिकाद्वारा गर्मी विदा थपियो ! अब असार २ गतेसम्म विद्यालय बन्द रहने
वि.सं.२०८२ जेठ ३१ शनिवार २२:३९

बारा-निजगढ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले अत्यधिक गर्मीका कारण विद्यालयमा नियमित पठनपाठनमा असर परिरहेको भन्दै विद्यालयहरूमा थप गर्मी विदा दिने निर्णय गरेको छ ।
नगरपालिकाबाट जारी सूचनामा भनिएको छ कि पछिल्ला दिनहरूमा बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै सावधानी अपनाउँदै नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा २०८२ असार १ गतेदेखि असार २ गतेसम्म (दुई दिन) थप गर्मी विदा दिने निर्णय गरिएको हो ।
यसअघि दिइएको विदा सकिएपछि पुनः गर्मीको अवस्था र विद्यालयको स्थिति हेरी थप निर्णय गरिने नगरपालिकाले स्पष्ट पारेको छ ।
नगर शिक्षा शाखाका शिक्षा अधिकृत उत्तम लामिछानेद्वारा हस्ताक्षरित सूचनामा विद्यालयहरूलाई सूचनाबारे जानकारी गराई सहयोग गर्न अनुरोध गरिएको छ । यसअघि जेठ २८ देखि ३० गतेसम्म गर्मी विदाको घोषणा गरिएको थियो ।
वि.सं.२०८२ जेठ ३१ शनिवार २२:३९
















