निजगढमा होटल तथा पर्यटन व्यवसायी महासंघको बैठक : चाडपर्व लक्षित विभिन्न निर्णय
वि.सं.२०८२ भदौ १७ मंगलवार १९:३३

बारा-निजगढको हाइवे होटलको सभा हलमा होटल तथा पर्यटन व्यवसायी महासंघ निजगढ एकाइको बैठक सम्पन्न भएको छ ।
बैठकले होटल तथा पर्यटन व्यवसायलाई व्यवस्थित गर्दै आगामी दिनका कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले चाडपर्वलाई मध्यनजर गर्दै निजगढ एकाइको सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गर्ने, सो कार्यालयमार्फत व्यवसायीहरुलाई सहज तरिकाले सेवा दिने व्यवस्था गर्ने निर्णय गरेको छ। साथै, भाद्र २९ गते अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने र निजगढका सम्पूर्ण होटलहरूको डाटाबेस तयार गर्ने निर्णय पनि बैठकले गरेको छ।
यससँगै कार्यक्रमलाई अझ फराकिलो बनाउन, होटल व्यवसायीले राखेका धारणा तथा सुझावलाई समेटी आगामी दिनमा ठोस कार्ययोजना अघि बढाउने निर्णय गरिएको महासंघले जनाएको छ।
बैठक संघका अध्यक्ष रामकृष्ण घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो भने बारा जिल्ला अध्यक्ष अर्जुन लम्साल प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रमको सञ्चालन संघका सचिव डिबि दाहालले गर्नुभएको थियो।
बैठकमा निजगढका विभिन्न होटल व्यवसायीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले आफ्नो धारणा राख्दै व्यवसाय प्रवर्द्धन, समस्या समाधान तथा अवसर विस्तारबारे गहन छलफल गरेका थिए।
वि.सं.२०८२ भदौ १७ मंगलवार १९:३३

















