skip this farak Kura Pravakar

मौसम विभागद्वारा हावाहुरी सुरु हुने समय र प्रभावित हुनसक्ने जिल्लाको विवरण अध्यावधिक

90 shares
oil-nigam-amlekhgunj-adv.jpeg

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा आजदेखि तीव्र हावाहुरी चल्ने समय र प्रभावित हुने जिल्लाको विवरण अद्यावधिक गर्दै विशेष सूचना जारी गरेको छ।

आज बिहान ८ बजे प्रकाशित विशेष बुलेटिनअनुसार हावाहुरी अपराह्न ४ बजेदेखि सुरु हुने अनुमान गरिएको छ। यस प्रणालीको प्रभाव विशेषगरी सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा, डोटी लगायत आसपासका जिल्लामा पर्ने सम्भावना रहेको जनाइएको छ।

त्यस्तै लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची तथा परासी आसपासका क्षेत्रमा पनि हावाहुरीको असर देखिन सक्ने विभागले जनाएको छ। गण्डकी प्रदेशको नवलपुर र बागमती प्रदेशअन्तर्गत चितवन आसपासका जिल्लासमेत प्रभावित हुन सक्ने उल्लेख गरिएको छ।

मधेश प्रदेशका बारा, पर्सा र धनुषासहित वरपरका जिल्लामा पनि तीव्र हावाहुरीको जोखिम रहेको छ भने कोशी प्रदेशका झापा र मोरङ क्षेत्रमा समेत सतर्कता अपनाउन आग्रह गरिएको छ।

अद्यावधिक सूचनाअनुसार हावाहुरी आज अपराह्न ४ बजेदेखि सुरु भई भोलि बिहान ६:४५ बजेसम्म जारी रहने अनुमान गरिएको छ। यसअघि विभागले साँझ ५:४५ बजेबाट हावाहुरी सुरु भई बिहान ७:४५ बजे समाप्त हुने प्रक्षेपण गरेको थियो।

विभागका अनुसार हावाहुरीसँगै मेघगर्जन, चट्याङ तथा असिनासहित वर्षा हुने प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै देशका अधिकांश स्थानमा प्रभाव पार्ने सम्भावना रहेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

nijgadh-supermart-adz1200-630