skip this farak Kura Pravakar

तीव्र हावाहुरीको चेतावनी : बुधबार साँझदेखि बिहीबार बिहानसम्म सतर्क रहन आग्रह

198 shares
oil-nigam-amlekhgunj-adv.jpeg

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले मंगलबार जारी गरेको सूचनाअनुसार कोशी, मधेस, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बुधबार साँझदेखि हावाहुरीसहितको खराब मौसम देखिन सक्ने अनुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले उपलब्ध गराएको विवरणअनुसार कोशी प्रदेशको मोरङसहित आसपासका क्षेत्र, मधेस प्रदेशका धनुषा र बारा, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची तथा सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ।

विभागका अनुसार बुधबार साँझ ५ः४५ बजेदेखि सुरु हुने हावाहुरी बिहीबार बिहान ७ः४५ बजेसम्म जारी रहने अनुमान गरिएको छ। यस अवधिमा मेघगर्जन, चट्याङ, असिना तथा वर्षासहितको मौसम प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने सम्भावना रहेको जनाइएको छ।

प्राधिकरणले हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने, घरका छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम औँल्याएको छ।

सुरक्षाका लागि हावाहुरी चलिरहेको बेला अनावश्यक रूपमा घरबाहिर ननिस्कन, झ्यालढोका मजबुत रूपमा बन्द गर्न तथा कमजोर छाना भएमा सुरक्षित रूपमा बाँधेर राख्न सुझाव दिइएको छ। साथै आगो बाल्दा विशेष सावधानी अपनाउन, अग्ला रुख, पोल, कमजोर संरचना तथा बिजुलीका तार नजिक नबस्न आग्रह गरिएको छ।

हावाले उडाएर ल्याउन सक्ने वस्तुबाट चोटपटक लाग्न सक्ने भएकाले सचेत रहन र मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्न पनि प्राधिकरणले अनुरोध गरेको छ।

nijgadh-supermart-adz1200-630