राष्ट्रपतिबाट ६ अध्यादेश प्रमाणीकरण, बाँकी दुईमा छलफल जारी
वि.सं.२०८३ वैशाख १९ शनिवार १७:३८

शनिबार अपराह्न राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्ति जारी गर्दै थप तीन वटा अध्यादेश जारी गरिएको जानकारी दिएका हुन् । सरकारको सिफारिसका आधारमा संविधानको धारा ११४ को उपधारा (१) अनुसार पछिल्ला तीन दिनमा राष्ट्रपति पौडेलले ती अध्यादेशहरू जारी गरेका हुन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार बाँकी दुई वटा अध्यादेश भने अध्ययनकै चरणमा छन् । विशेषगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति राष्ट्रपति पौडेलले विशेष चासो देखाएका छन् । यसअघि पनि विभिन्न सरकारबाट पटक–पटक सिफारिस हुँदै आएको उक्त अध्यादेश जारी गर्ने वा नगर्ने विषयमा अन्योल देखिएपछि उनले कानुनविद्हरूसँग समेत छलफल गरेका थिए ।
कानुनविद्हरूले प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेर अघि बढ्न सुझाव दिए पनि राष्ट्रपति पौडेल भने अहिलेसम्म कुनै ठोस निष्कर्षमा पुगेका छैनन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश शनिबारसम्म जारी भएका निर्णयहरूको सूचीमा समावेश छैन । स्रोतले भन्यो, “शुक्रबार र शनिबार भएका निर्णयहरूमा उक्त अध्यादेश परेको छैन ।”
त्यस्तै, केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेशमाथि पनि राष्ट्रपतिले छलफल जारी राखेका छन् । स्रोतका अनुसार संवैधानिक परिषद् र केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश दुवै छलफलकै चरणमा छन् । केही नेपाल ऐनमार्फत २५ भन्दा बढी कानुन संशोधन गर्ने प्रस्ताव गरिएको छ ।
कुन–कुन अध्यादेश जारी भए ?
पछिल्ला तीन दिनमा राष्ट्रपति कार्यालयबाट कुल ६ वटा अध्यादेश जारी भएका छन् ।
१७ वैशाख (बिहीबार)
सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३
सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३
१८ वैशाख (शुक्रबार)
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३
१९ वैशाख (शनिबार)
स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३
सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३
विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३
वि.सं.२०८३ वैशाख १९ शनिवार १७:३८
















