तत्काल मौसम सुधारको सम्भावना न्यून, साताभर वर्षा हुने अनुमान
साताभर वर्षा हुने अनुमान
वि.सं.२०८३ वैशाख २० आइतवार ०७:५२

मौसमविदहरूले हालको मौसमी प्रणाली अझै सक्रिय रहेकाले मौसम तत्काल सुधार हुने सम्भावना न्यून रहेको बताएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार यो साताभर देशका अधिकांश क्षेत्रमा वर्षा तथा हिमपातको क्रम जारी रहने अनुमान गरिएको छ।
हाल देखिएको पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदली कायम छ। विशेषगरी गण्डकी प्रदेशमा वर्षाको प्रभाव बढी रहने आकलन गरिएको छ। गण्डकीका तराई, पहाड तथा हिमाली भूभागमा साताभर नै वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविदहरूको भनाइ छ। केही स्थानमा भने भारी वर्षा वा भारी हिमपात हुन सक्ने चेतावनीसमेत दिइएको छ।
मौसमविदहरूका अनुसार वर्षा बीच–बीचमा रोकिने देखिए पनि पुनः वर्षा दोहोरिने सम्भावना रहेकाले मौसम स्थिर हुने अवस्था तत्काल देखिँदैन।
तराई क्षेत्रमा यस्तो रहनेछ मौसम
हिजोदेखि नै देशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालका अनुसार आगामी केही दिन देशका धेरै भागमा चट्याङसहित पानी पर्ने सम्भावना छ।
मंगलबारसम्म कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने बताइएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भने थोरै स्थानमा मात्रै मध्यम वर्षा हुने सम्भावना रहेको छ।
बुधबारदेखि विहीबारसम्म सबै प्रदेशका तराई भूभागमा केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
पहाडी क्षेत्रमा वर्षाको सम्भावना
मौसमविदहरूका अनुसार आगामी मंगलबारसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश पहाडी क्षेत्रमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।
बुधबारपछि भने वर्षाको क्षेत्र केही सीमित हुँदै जाने देखिएको छ। यस अवधिमा कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। गण्डकी प्रदेशमा साताभर वर्षाको प्रभाव रहने तथा अन्य केही प्रदेशमा मंगलबारसम्म एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मौसमविद ढकालका अनुसार हिमाली क्षेत्रमा पनि साताभर हिउँ वा वर्षा पर्ने सम्भावना कायम छ। आइतबारदेखि मंगलबारसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम हिमपात वा वर्षा हुन सक्छ।
बुधबारपछि हिमाली क्षेत्रमा केही स्थानमा मात्रै मध्यम हिमपात वा वर्षा हुने अनुमान गरिएको छ।
हाल मधेश र सुदूरपश्चिम बाहेकका अधिकांश प्रदेशमा वर्षा भइरहेको छ। विशेषगरी लुम्बिनी र गण्डकी प्रदेशमा मध्यम खालको वर्षा जारी रहेको छ। आज दिउँसो पनि यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसमविदहरूले बताएका छन्।
मौसमविदहरूले बदलिँदो मौसम अवस्थालाई ध्यानमा राख्दै नियमित मौसम अद्यावधिक हेरेर मात्रै यात्रा तथा दैनिक कार्यको योजना बनाउन सुझाव दिएका छन्।
२४ घण्टामा सबैभन्दा बढी वर्षा मुसिकोटमा
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा गुल्मीको मुसिकोटमा मापन गरिएको छ, जहाँ ८६.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ।
देवघाट, नवलपुरको देउराली, दुम्कौली तथा अछामको असराघाट क्षेत्रमा पनि उल्लेख्य वर्षा भएको छ। पछिल्ला तीन घण्टामा पर्वतको कार्कीनेटा, स्याङ्जाको पञ्चमूल, कास्कीको पोखरा र लमजुङको राइनासटारमा भारी वर्षा मापन गरिएको छ।
काठमाडौंका कपन, कीर्तिपुर र सुन्दरीजल क्षेत्रमा भने सामान्य वर्षा भएको विभागले जनाएको छ।
वि.सं.२०८३ वैशाख २० आइतवार ०७:५२
















