skip this farak Kura Pravakar
घटनामा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गर्‍यो
घटनास्थलबाट खुकुरी बरामद, धारिलो हतियार प्रयोग भएको आशंका

नुवाकोटमा दुई दाजुभाइको रहस्यमय हत्या : ६ जना पक्राउ, प्रहरीले तीव्र बनायो अनुसन्धान

किम्ताङको जंगलमा दाजुभाइको शव खोलामा ढुंगाले छोपिएको अवस्थामा फेला, घटनास्थलबाट खुकुरी बरामद भएपछि धारिलो हतियार प्रयोग भएको आशंका ।

138 shares
oil-nigam-amlekhgunj-adv.jpeg

नुवाकोटमा दुई दाजुभाइको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ । घटनासँग सम्बन्धित भएको आशंकामा हालसम्म ६ जनालाई पक्राउ गरी सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

एसपी विपिन रेग्मीका अनुसार घटनाको वास्तविक कारण र संलग्न व्यक्तिबारे विस्तृत अनुसन्धान भइरहेको छ । उनले पोस्टमार्टम रिपोर्ट आएपछि हत्याबारे थप तथ्य खुल्ने बताए ।

यो घटना नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङ क्षेत्रमा भएको हो । बुधबार बिहान स्थानीयबाट सूचना पाएपछि प्रहरीले खोजतलास गर्दा ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङको शव फेला पारेको थियो । दुवैको शव खोलामा ढुंगाले छोपेर लुकाइएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक रूपमा गोली प्रहार गरेर हत्या गरिएको सूचना आए पनि प्रहरीले हालसम्म त्यसको पुष्टि गरेको छैन । घटनास्थलबाट खुकुरी बरामद भएकाले धारिलो हतियार प्रयोग भएको हुनसक्ने अनुमान गरिएको छ ।

हत्या किन गरिएको हो भन्ने विषय पनि अझै खुल्न सकेको छैन । आर्थिक कारोबार वा व्यक्तिगत विवादका कारण घटना भएको हुनसक्ने आशंका गरिए पनि प्रहरीले यसबारे आधिकारिक पुष्टि गरेको छैन ।

परिवारका अनुसार दुवै दाजुभाइ मंगलबार बिहान कुलो बनाउन भन्दै घरबाट निस्किएका थिए । त्यसपछि उनीहरू सम्पर्कविहीन बनेका थिए । शव भेटिएको स्थान नुवाकोट–धादिङ सीमावर्ती दुर्गम जंगल क्षेत्रमा पर्ने र त्यहाँ पुग्न सडकबाट करिब पाँच घण्टा पैदल हिँड्नुपर्ने प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630