चितवनमा निगुरो जफत गरेको भिडियो भाइरल : सेना भन्छ ‘बनावटी’, भिडियो खिच्नेको दाबी– ‘घटना वास्तविक हो’
जंगलबाट संकलन गरिएको निगुरो जफत गरिएको भिडियोपछि सामाजिक सञ्जालमा चर्कियो बहस
वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:३३

चितवनको टिकौली जंगल नजिक सडक किनारमा निगुरो बेचिरहेकी एक महिलाको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ। भिडियोमा एक महिलाले सडक छेउमा निगुरो बिक्री गरिरहेको देखिन्छ। उनका हातमा सानो जेब्रा झोला, पहेँलो बोरा र केही मुठा निगुरो देखिन्छन्।
त्यसैबीच सुनौलो रंगको एउटा गाडी सडक किनारमा रोकिन्छ। गाडीबाट नेपाली सेनाको पोसाक लगाएका केही व्यक्ति झर्छन् र ती महिलातर्फ अघि बढ्छन्। उनीहरूलाई देख्नेबित्तिकै महिला आत्तिँदै ‘आर्मी आयो’ भन्दै आफ्नो निगुरो जोगाउन खोजेको भिडियोमा देखिन्छ।
तर ती व्यक्तिहरूले महिलालाई निगुरो भुइँमा राख्न लगाउँछन् र पछि ती निगुरो गाडीमा हालेर लिएर गएको दृश्य भिडियोमा कैद छ। दैनिक गुजाराका लागि निगुरो बेच्दै आएकी ती महिला त्यसपछि निराश देखिन्छिन्। भिडियोमा रहेका अर्का एक पुरुषले समेत सेनाबाट दुःख पाएको गुनासो गरेका छन्।
भिडियोमा देखिएका व्यक्तिहरूको पोसाकमा निकुञ्जको ब्याच देखिएकाले यो घटना राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र वा आसपासको हुन सक्ने अनुमान गरिएको छ।
सामाजिक सञ्जालमा आलोचना
‘आरपीए भ्लग’ नामक युट्युब च्यानलमा सार्वजनिक गरिएको उक्त भिडियो अहिले व्यापक रूपमा फैलिएको छ। भिडियोमा धेरै दर्शकले नेपाली सेनाको आलोचना गर्दै ती महिलाप्रति सहानुभूति व्यक्त गरेका छन्।
तर नेपाली सेनाले भने उक्त भिडियो ‘फेब्रिकेटेड’ अर्थात् बनावटी ढंगले प्रस्तुत गरिएको दाबी गरेको छ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले भिडियोमा देखिएको गाडी सेनाको नभएको बताएका छन्। उनका अनुसार भिडियोलाई निकुञ्ज क्षेत्रको दृश्यजस्तो देखाएर फरक ढंगले प्रस्तुत गरिएको हुन सक्छ।
भिडियो खिच्ने व्यक्तिको दाबी– ‘घटना वास्तविक हो’
उता, 
‘यो भिडियो हिजो चितवनमा खिचिएको हो, घटना पूर्ण रूपमा वास्तविक हो,’ आचार्यले भने, ‘निगुरो जफत गर्नेहरू नेपाल आर्मी नै हुन्।’
आचार्यका अनुसार जंगलबाट निगुरो संकलन गर्न जाने स्थानीयले सेनालाई प्रतिव्यक्ति तीन सय रुपैयाँ बुझाउनुपर्ने अवस्था रहेको छ। रकम बुझाएर संकलन गरिएको निगुरोसमेत जफत गरिएको दृश्य आफूले देखेको उनको दाबी छ।
उनले ती महिला सुकुम्बासी बस्ती क्षेत्रकी भएको जानकारी दिए। त्यहाँका स्थानीय बासिन्दा जंगलबाट निगुरो टिपेर सडक किनारमा बेच्दै दैनिक गुजारा चलाउने गर्छन्। सडक भएर आवतजावत गर्ने यात्रुहरू नै उनीहरूको मुख्य ग्राहक हुने गरेका छन्।
आचार्यका अनुसार उनले पनि ती महिलाबाट दुई मुठा निगुरो किनेका थिए। तर महिलाको अवस्था देखेपछि आफूले किनेको निगुरो फिर्ता गरेर फेरि बेच्न दिएका थिए।
‘मैले फिर्ता गरेको निगुरो पनि पछि सेनाले जफत गरिदियो भन्ने सुनियो,’ उनले बताए।
कानुनी व्यवस्था के भन्छ ?
नेपाली सेनाका प्रवक्ता बस्नेतका अनुसार राष्ट्रिय निकुञ्ज क्षेत्रमा सुरक्षा व्यवस्थापनको जिम्मा सेनाले सम्हाल्ने गर्दछ भने प्रशासनिक काम निकुञ्ज कार्यालयले हेर्छ। उनका अनुसार अनुमति बिना निकुञ्ज क्षेत्रबाट निगुरो लगायत वनजन्य वस्तु संकलन गर्न नपाइने कानुनी व्यवस्था रहेको छ।
तर सामाजिक सञ्जालमा भने गरिब समुदायको जीविकोपार्जनसँग जोडिएको विषयमा मानवीय संवेदनशीलता अपनाउनुपर्ने बहस चर्किएको छ।
वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:३३
















