तामागढी सबडिभिजन वन कार्यालयमा वन अधिकृत शर्मिला नेपालको स्वागत
वि.सं.२०८३ कात्तिक १० मंगलवार २०:२१

बारा-डिभिजन वन कार्यालयकी वन अधिकृत शर्मिला नेपाललाई तामागढी सबडिभिजन वन कार्यालयमा स्वागत गरिएको छ। सबडिभिजनअन्तर्गतका चारवटा सामुदायिक वनका पदाधिकारी तथा कर्मचारीले खादा र टीका लगाएर उनको स्वागत गरेका हुन्।
निजगढ सबडिभिजन वन कार्यालयबाट डिभिजन वन कार्यालयमा सरुवा भएकी नेपाललाई तामागढी सबडिभिजन वन कार्यालयको जिम्मेवारी दिइएको हो।
स्वागत कार्यक्रममा बकैया नागमणि सामुदायिक वन समूहका अध्यक्ष सालिकराम ढुंगाना, बाघभैरव सामुदायिक वन समूहका अध्यक्ष अमरलाल सिंगतान, जनजागृति सुन्दर सामुदायिक वन समूहका अध्यक्ष भीमप्रसाद तिमल्सिना र कछडिया सामुदायिक वन समूहका अध्यक्ष विगुलाल धामीले आ–आफ्नो सामुदायिक वनको अवस्था तथा वन संरक्षणका क्रममा देखिएका चुनौतीबारे जानकारी गराएका थिए।
कार्यक्रममा वन अधिकृत नेपालले सामुदायिक वन समूह र सबडिभिजन वन कार्यालयले एकअर्काको गरिमा कायम राख्दै समन्वय र सहकार्यका साथ काम गर्नुपर्ने बताइन्। वन संरक्षण, व्यवस्थापन तथा सामुदायिक वनको विकासका लागि दुवै पक्षबीच आपसी समझदारी र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा बकैया नागमणि सामुदायिक वन समूहकी सहसचिव सजना उप्रेती, सदस्य शारदा थापा, कार्यालय सचिव हरि न्यौपाने, जनजागृति सुन्दर सामुदायिक वन समूहका कार्यालय सचिव जयराम तिमल्सिना, बाघभैरव सामुदायिक वन समूहका कार्यालय सचिव रामकुमार सिग्देललगायतको सहभागिता थियो।
वि.सं.२०८३ कात्तिक १० मंगलवार २०:२१

















