मिटरव्याजी समस्या समाधान गरेरै छोड्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता
वि.सं.२०७९ चैत १८ शनिवार ११:०५

काठमाडौं । आफ्नै कार्यकालमा मिटरब्याज पीडितको समस्या समाधान गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धता जनाएका छन् ।न्याय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका मिटरब्याज पीडितको गुनासो सुनेपछि प्रचण्डले सरकारले कानून बनाएर दीर्घकालीन रुपमै यसको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘अब ऐन बनाउने काम पनि सरकारले गर्छ । कानुन बनाएर दीर्घकालीनरुपमा नै यस समस्या समाधान गर्छु,’ उनले भने, ‘म यो समस्या समाधानका लागि गर्न पर्ने सबै काम गर्छु ढुक्क हुनुस् ।’उनले गृहको टोलीसँग बार्ता गरी सहमति गरेर ढुक्क भएर घर जान पीडितलाई भनेका छन् ।मिटरब्याज समस्या समाधानका लागि तत्काल उच्चस्तरीय आयोग बनाउने निर्णय मन्त्रिपरिषदले गरिसकेको बताउँदै उनले न्याय पाइन्छ भन्नेमा ढुक्क हुन आग्रह गरे ।
मिटरब्याज पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न ऐन नै बाधक बनेको भन्दै प्रचण्डले त्यो ऐन सच्याउने कार्य सुरु भइसकेको बताए । ुतपाईँहरूलाई न्याय दिन हामीले ऐन संशोधनको प्रक्रिया सुरु गरिसकेका छौँ । त्यो ऐनलाई प्रभावकारी बनाउन के गर्न सकिन्छ भन्नेबारे तपाईँहरूको सुझावको अपेक्षा गरेको छुु, पीडितसँग प्रचण्डले भने ।
वि.सं.२०७९ चैत १८ शनिवार ११:०५

















