सहकारी संस्थाहरुको लागि निजगढमा तीन वर्षे व्यावसायिक योजना निर्माण तालिम
वि.सं.२०८० असोज १९ शुक्रवार ०७:३९

बारा–समुदायमा आधारित सहकारी संस्थाहरुको लागि तीन वर्षे व्यावसायिक योजना निर्माण तालिम बारा जिल्लाको निजगढमा सुरु भएको छ ।
साना किसान बिकास लघुवित्त वित्तीय संस्था लि. हेटौडा, मकवानपुरको आयोजनामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को सहयोगमा निजगढस्थित होटेल राजमार्गमा चार दिने तालिम सुरु भएको हो ।
तालिममा बारा, रौतहट, सर्लाही र महोत्तरी जिल्लाका १३ वटा सहकारी संस्थाको प्रतिनिधि सहभागि छन् ।
तालिमको महोत्तरी जिल्ला कृषि संघ र महिला केन्द्र बहुउदेश्यीय सहकारी संस्था लि. का अध्यक्ष शारदा दाहाल, निजगढ सहकारी संजालका संयोजक तथा सारमाथा बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष भोला प्रसाद गौतम र बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बारा, कलैयाको लेखा समिति सदस्य कोपिला सिम्खडाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
तालिममा मुख्य सहजकर्ताको रुपमा लघुवित्त तथा सहकारी विज्ञ प्रकाश पाण्डे र फिल्ड प्रशिक्षक सुदिप जि. सी. रहेका छन् ।
तालिमको उद्घाटन सत्रमा सगरमाथा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भोला प्रसाद गौतमले सहकारी संस्था सबैले जिम्मेवार भएर पवित्र भावनाले आ–आफ्नो तर्फबाट सदस्यहरुलाई सेवा प्रदान गर्नुपर्ने बताए । उनले संस्थालाई दिगो बनाउन र लक्ष्य प्राप्ति गर्न र आहिलेको प्रतिकुल परिस्थितिबाट सहकारी संस्थाहरुलाई बचाउन स्पष्ट व्यावसायिक योजना एकदमै जरुरी रहेको बताए । यो तालिमलाई दुरगामी तथा प्रभावकारी व्यावसायिक योजना निर्माण गर्ने अवसरका रुपमा लिनुपर्ने बताए ।
कार्यक्रममा बारा जिल्ल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति सदस्य कोपिला सिम्खडाले तालिम प्राप्त गर्ने अवसर प्रदान गरेकोमा धन्यबाद दिदै तालिमबाट निर्माण हुने व्यावसायिक योजनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिईन् । उनले संस्थामा सदस्यहरुको माया, ममता र अपनत्वलाई बढावा दिंदै पृथक ढंगले सेवा बिस्तार गर्नु पर्ने बताईन् ।
उद्घाटन सत्रको समापनको घोषणा गर्दै महोत्तरी जिल्ला कृषि संघका अध्यक्ष शारदा दाहालले सहकारी संस्थाहरु समुहमा आधारित भएर संचालन भयो भने मात्र संस्था बलियो हुने र बलियो व्यावसायिक योजनाले संस्थालाई नै बलियो बनाउने कुरा स्पष्ट पारे ।
उद्घाटन सत्रको संचालन साना किसान लघुवित्त वित्तीय संस्था लि. समृद्धि आयोजनाका लघुवित्त तथा सहकारी विज्ञ प्रकाश पाण्डेले गरेका थिए ।
वि.सं.२०८० असोज १९ शुक्रवार ०७:३९

















