ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु
वि.सं.२०७८ माघ २६ बुधवार १७:२७

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाकाे मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार नगरपालिका–२ स्थित जयचोकमा भएको सवारी दुर्घटनामा घाइते भएका प्रहरी हवल्दार बसन्त बोहोराको मृत्यु भएको हो।
मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ३८ वर्षीय बोहोराको बुधबार दिउँसो विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो।
मोरङ प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार बोहोराले हाँकेको प्रदेश १–०२–०४७ प ८६६७ मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८५७८ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।
मृतक बोहोरा झापा निवासी र सप्तरीको राजविराजस्थित उच्च अदालतमा कार्यरत रहेका थिए। उनीसँगै दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अर्का ३९ वर्षीय हवल्दार दानबहादुर योगी घाइते भएका छन्।
हाल उनको नोबेलमा उपचार भइरहेको छ। भोजपुरको टक्सार घर भएका योगी सप्तरीको फत्तेपुरस्थित प्रहरी चौकीमा कार्यरत थिए।
दुर्घटनापछि ट्रकका चालक भने फरार भएका छन्।
वि.सं.२०७८ माघ २६ बुधवार १७:२७
















