निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १०६ पुग्यो
वि.सं.२०७८ फागुन ५ बिहीवार १७:३३

काठमाडाैं । निर्वाचन आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलको संख्या १०६ पुगेको छ ।
बिहीबार आयोगमा तीन नयाँ दल दर्ता भएसँगै राजनीतिक दलको संख्या १०६ पुगेको हो ।
जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीनवटा नयाँ राजनीतिक दल दर्ता गरिएको आयोगद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानून बमोजिमका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम नयाँ दल दर्ता गरिएको हो ।
सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा स्थानिय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । सोही अनुसार आयोगले अहिले निर्वाचनको तयारी गरिरहेको छ ।
स्थानीय तह निर्वाचनको लागि आयोगले आजबाट दल दर्ता खुला गरेको छ । आयोगले यही फागुन १५ गतेभित्र निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले आफ्नाे दल दर्ता गर्न आव्हान समेत गरेको छ ।
वि.सं.२०७८ फागुन ५ बिहीवार १७:३३

















