कमल थापाले गरे नयाँ पार्टी घोषणा (फाेटाेफिचर)
वि.सं.२०७८ फागुन ७ शनिवार १५:५९

काठमाडाैं । कमल थापाले शनिबार औपचारिक रुपमा राप्रपा नेपाल पार्टीको घोषणा गरेका छन् । प्रजातन्त्र दिवसको दिन पारेर शनिबार उनले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गरेका हुन् ।
राजधानीमा आयोजित पार्टी घोषणसभालाई सम्बोधन गर्दै उनले आफूलाई विधान र कानुनअनुसार राप्रपा फुटाउने सुझाव आएपनि त्यसो नगरेको बताए । आफूले गीतामा हात राखेर राप्रपा नफुटाउने कसम खाएका कारण सो पार्टीलाई नफुटाएको दाबी समेत गरे । पार्टी घोषणसभामा सो पार्टीका नेता कार्यकर्ता बाजागाजासहित कार्यक्रमस्थलमा पुगेका थिए ।
थापाले अहिले बोक्न लागेको एजेण्डा भनेको गणतन्त्रसँगै हिन्दुराष्ट्रको हो । विगतमा राजसंस्थासहित हिन्दुराष्ट्रको एजेण्डा बोकेकै कारण तत्कालीन राप्रपाले संविधानसभामा २४ सिट जितेको थियो । तर, थापा पटक पटक सत्तामा जाँदा पार्टीभित्रकै तीव्र अन्तर्विरोध र एजेण्डामा अस्थिर हुँदा नराम्रो धक्का पुग्यो भने जनाधार खस्किन पुग्यो । कमजोर अवस्थामा रहेको राप्रपाबाट पनि बाहिरिएर पुरानै राप्रपा ब्युँताउने कमल थापाको राजनीतिक भविष्य दाउमा रहेको छ । पहिलो त थापालाई पुरानो दाग मेटाउनै चुनौती छ । त्यसमाथि एजेण्डागत रूपमा पनि अन्य दलहरूभन्दा पृथक नभएकाले जनधार प्राप्त गर्नै सकस पर्ने देखिन्छ ।
थापाको पार्टीले सुशासन र समृद्धि एजेण्डालाई समेत प्राथमिकता दिने भनिएको छ । थापाले विगतको गल्तीमा आत्मालोचना गर्दै इमान्दार प्रयास गर्ने हो भने पार्टी सशक्त नबन्ला भन्न पनि सकिँदैन । किनकि बहुसङ्ख्यक जनता हिन्दुधर्मावलम्बी छन् भने उनीहरू कुन न कुनै रूपमा हिन्दुराष्ट्रप्रति आस्था राख्छन् ।
यस्तै देशमा भ्रष्टाचार, बेथिति, अराजकता मौलाएको सन्दर्भमा यसविरुद्ध इमान्दार भएर लाग्ने हो भने जनमत प्राप्त हुने सक्ने ‘स्पेश’ भने पर्याप्त छ । अर्को कुरा पार्टी व्यक्तिको भूमिमा निर्भर त हुन्छ नै सँगसँगै अभियानले पनि महत्त्व राख्छ । अर्थात् थापाले राप्रपा ब्युँताएपनि पार्टीमा युवादेखि हरेक क्षेत्र, लिङ्ग, समुदायका व्यक्तिहरूलाई समेटेर गति दिन सकिन्छ ।
थापाले हिन्दुराष्ट्र, सुशासन र समृद्धिको एजेण्डा बोकेर जनतामाझ जाँदा विगतमा सँगै काम गरेका पार्टीका नेता कार्यकर्तालाई यो अभियानमा साथ दिन आह्वान पनि गरेका छन् । घोषणासँगै पार्टीको अभियान उत्साहका साथ अघि बढ्ने थापाको भनाइ छ ।
तस्विर : फरक नेपाल




















वि.सं.२०७८ फागुन ७ शनिवार १५:५९

















