सविधान दिवसमा बारामा प्रभातफेरी, झण्डोतोलनदेखि दिपावलीसम्म (फोटोफिचर)

वि.सं.२०७८ असोज ३ आइतवार २१:१७

बारा : ७ औं सविधान दिवस बारामा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
जिल्लाका १६ वटै स्थानीय तहमा संविधान दिवस विशेष कार्यक्रम भएका छन् । त्यसैगरि विभिन्न पार्टी र संघसंस्थाले पनि दिवसका अवसरमा कार्यक्रम आयोजना गरेका छन् ।
सरसफाई, कतै झण्डोतोलन, प्रभातफेरी र दिपप्रज्वलन लगायतका कार्यक्रम भएका हुन् ।
निजगढ नगर कार्यपालिकाको कार्यालय, निजगढको परिसरमा आइतबार साँझ दीप प्रज्ज्वलन गरिएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो । उनीहरुले नेपालको नक्सा बनाएर मैनबत्ती र झिलिमिलीबत्ती समेत बालेका थिए । त्यस्तै दिवसको अवसरमा कोल्हवी नगरपालिकामा प्रभातफेरी निकालिएको छ ।
संविधान सफलपारौं, संविधान कार्यान्वयन गरौ भन्ने मुल नाराका साथ कोल्हवीमा प्रभातफेरी निकालिएको हो ।
कोल्हवी बजारमा निकालिएको प्रभातफेरीमा नगर प्रमुख भरतबहादुर भण्डारीको विशेष उपस्थिति रहेका थियो । त्यस्तै कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले कार्यालय परिसर मा राष्ट्रिय झण्डा फहराउनु भएको छ ।
त्यस्तै महागढिमाई नगरपालिकामा पनि संविधान दिवस मनाइएको छ । नगर प्रमुख उपेन्द्र यादवले कार्यालय परिसरमै राष्ट्रिय झण्डा फहराउदै संविधान दिवस मनाइएको छ । दिवसकै उपलक्ष्यमा महागढीमाई नगरपालिकाले आयोजना गरिएको झण्डा उतोलन कार्यक्रममा राष्ट्रिय धुन सहित सशस्त्र प्रहरीबाट सलामी अर्पण गरिएको थियोे ।
उक्त अवसरमा नगर प्रमुख यादवले आफ्नो ज्यानको पर्वाह नगरी नागरिकको सुरक्षामा दिनरात खटिएक सशस्त्र प्रहरीहरूलाई टिका लगाई सम्मान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गदैै नगर प्रमुख यादवले नेपालको संविधान २०७२ सबैको अधिकार समेटिएको र उत्कृष्ट संविधान भएकोले यस दिनलाई सबैले पर्वको रूपमा मनाउनुपर्ने धारणा राखेका थिए ।
त्यस्तै संविधान दिवसको अवसरमा बारागढी गाउँपालिकामा वृहत सरसफाई तथा झण्डोतोलन गरिएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष देवदत्त बछार थारु, प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी तथा वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै विश्रामपुर गाउँपालिकामा छुट्टै कार्यक्रम गरिएको थियो ।
उक्त अवसरमा राष्ट्रिय झन्डा फहराइ, दौड प्रतियोगिता कार्यक्रम आयोजना गरिएको थियो ।
दौड प्रतियोगितामा प्रथम हुनेलाई तीन हजार, दोस्रोलाई दुई हजार पाँच सय, तेस्रोलाई दुई हजार प्रदान गरिएको थियो । विजेतालाई प्रमाणपत्र र शिल बितरण गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष अमिरिलाल राउत (पाल), उपाध्यक्ष सुमित्रा देवी, प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरी, विभिन्न वडाका वडा अध्यक्षहरु, कर्मचारीहरु, सुरक्षाकर्मीहरु, नगरप्रहरीहरु लगायतको विशेष उपस्थिति रहेको थियो ।
त्यस्तै पचरौता नगरपालिकामा संविधान दिवसको अवसर पारेर राष्ट्रिय यूवा संघ नेपाल र अनेरास्ववियुले संयुक्तरूपमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेका छन् ।
पचरौता नगरपालिकाको कार्यालय रहेको बेनौली चौकमा दिप प्रज्वलन सम्पन्न गरेका हुन् ।
राष्ट्रिय यूवा संघ नेपाल पचरौता नगरपालिकाका नगर कमिटीका सचिव एवम् यूवा नेता रौशन कुमार यादव र अनेरास्ववियुका जिल्ला अध्यक्ष भैयाराम सहनीले संयुक्तरुपमा कार्यक्रमको नेतृत्व गरेका थिए ।
कार्यक्रममा नेता कार्यकर्ता, विद्यार्थी, किसान, बुद्धिजीवी, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
सयौंको संख्यामा रहेको यूवाहरुले संविधानको रक्षा गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
सोही अवसरमा पचरौता नगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष दिनानाथ सहनी, बनारसी, मुखिया, विनोद पटेल र राजेश सहनी लगायतको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रम साँझ ७ः०० बजे गरिएको थियो । संविधानको रक्षाको लागि दिप प्रज्वलन गरिएको राष्ट्रिय यूवा संघ नेपालका नगर कमिटी सचिव रौशन कुमार यादवले बताए ।
त्यसैगरि सिमरामा नेपाली कांग्रेस र नेकपा एमालेले दिपप्रज्वलन गरेर संविधान दिवस मनाएका छन् ।
हेर्नुस् तस्वीरहरु :
-तस्वीरहरु समाजिक सञ्जालबाट

वि.सं.२०७८ असोज ३ आइतवार २१:१७