भोटेकोशी बाढीपीडित राज विष्ट र दिनेश परियारका परिवारलाई वडा कार्यालयको सहयोग
वि.सं.२०८३ असोज ९ शुक्रवार २१:३४

निजगढ-भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका बाराको निजगढ नगरपालिका–९ का राज विष्ट र दिनेश परियारका परिवारलाई वडा कार्यालयले आर्थिक सहयोग गरेको छ।
रोजगारीका सिलसिलामा रसुवा पुगेका विष्ट र परियार भोटेकोशी बाढीपछि बेपत्ता भएका हुन्। उनीहरूको खोजी कार्यमा परिवारसँगै निजगढ–९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल समेत सक्रिय रूपमा खटिएका थिए।
लामो समयसम्म खोजी गर्दा पनि राज विष्टको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले उनको कुशको शव बनाएर अन्त्येष्टि गरिसकेको छ। आर्थिक रूपमा विपन्न परिवारमा एकैपटक परेको विपत्तिपछि वडा अध्यक्ष कटुवालले राहत तथा सहयोग जुटाउने पहल गरेका हुन्।
सोही क्रममा वडा अध्यक्ष कटुवालसहित वडाका जनप्रतिनिधि तथा कर्मचारीको टोली पीडित दुवै परिवारको घरमै पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेको हो। वडा कार्यालयको तर्फबाट १०/१० हजार रुपैयाँ तथा वडाका जनप्रतिनिधि र कर्मचारीको तर्फबाट ५/५ हजार रुपैयाँ गरी प्रत्येक परिवारलाई १५/१५ हजार रुपैयाँ सहयोग गरिएको वडा कार्यालयले जनाएको छ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष कटुवाल, वडा सदस्यहरू चित्रप्रसाद चौलागाईं, बविता श्रेष्ठ र इन्द्रकुमारी सुनार, वडा सचिव सोमसिंह बल लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो।
भोटेकोशी बाढीले आफ्ना आफन्त गुमाउने अवस्थामा पुगेका दुवै परिवारलाई परेको पीडामा साथ दिन वडा कार्यालय र जनप्रतिनिधि–कर्मचारीले गरेको सहयोगले केही राहत पुग्ने अपेक्षा गरिएको छ।
वि.सं.२०८३ असोज ९ शुक्रवार २१:३४

















