निजगढमा विपद् व्यवस्थापनका लागि नमुना अभ्यास (भिडियोसहित)

वि.सं.२०८० असोज २८ आइतवार २०:५९

बारा–विपद्को समयमा कसरी सुरक्षित हुने भन्ने उद्धेश्यले बाराको निजगढमा विपद् सम्बन्धि नमुना प्रदर्शन गरिएको छ ।
निजगढ नगरपालिकाको समन्वयमा जिल्ला विपद व्यवस्थापन समिति बाराले शनिवार वडा नम्बर ४ को नयाँवस्तिमा सशस्त्र प्रहरी र नेपाली सेनाद्वारा विपद्मा परेकाहरुको उद्धार र विपदको बेला गरिने कार्यको अभ्यास सम्बन्धि नमुना प्रदर्शन भएको हो ।
आगलागी, बाढी र डुवान जस्ता विपद्का घटनालाई लक्षित गरेर गरिएको प्रदर्शनीमा विपद् अघि र विपद् पश्चात् पीडित सर्वसाधारणको कसरी उद्धार गर्ने भन्ने विषयमा सिकाइएको थियो ।
कार्यक्रम समापन कार्यक्रममा बोल्दै बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले अभ्यासले विपदमा परेका नागरिकको जीउ धनको सुरक्षामा ठुलो मद्दत पुग्ने बताए । उनले समितिले जिल्लाका सबै पालिकामा विपद् सम्बन्धि अभ्यास र प्रदर्शन गरिने बताउँदै पालिकाहरुले पनि यसको लागि आवश्यक योजना बनाएर काम गर्नु पर्नेमा जोड दिए । प्रदर्शनले विपदबाट हुने क्षति न्युनीकरणमा सहयोग पुग्ने बताए ।
विपद्मा परेको अवस्थामा समुदायमा रहेका साधारण जनतालाई प्रयोग गरी घाइतेको उद्धार गर्न दक्ष बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । आगलागी जन्य विपद्का घटना आइपरेको खण्डमा प्रारम्भिक चरणमा गरिने खोज, उद्धार र प्रभावितलाई पुर्याउन सकिने प्राथमिक उपचार सहयोग जस्ता विषयलाई लक्षित गरी नमुना अभ्यास गरिएको विपद व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए ।
समापन कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले विपद ब्यबस्थापनका कारण केही समय अघि उद्धार हुन सकेको बताउदै सबै मिलेर विपदमा धैर्यकासाथ काम गर्नुपर्ने बताए ।
ग्यास पड्केको, आगलागि, पानीमा डुब्दा गरिने उद्धारका बारेमा प्रदर्शनीमा नमुना अभ्यास गरेका थिए भने विपदमा परेकाहरूको उपचार तथा व्यवस्थापन अभ्यास पनि गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति नरेन्द्र साह, उपसभापति चन्डिका उप्रेती सापकोटा, सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरीप्रसाद कलवार, विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फकार अलि भुटो, करैयामाई गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादव, परवानीपुर गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी, कोल्हवी नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी चौधरी, निजगढ नगरपालिकाकी उपप्रमु्ख सोम माया थिङ्ग लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य, सुरक्षा निकायका प्रमुख, स्थानीय विद्यार्थी अभिवावकहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०८० असोज २८ आइतवार २०:५९