महोत्तरीमा डाका र प्रहरीबीच भिडन्त, ४ जना घाइते
वि.सं.२०८० कात्तिक २९ बुधवार ०९:५१
जनकपुरधाम-महोत्तरीमा मंगलबार राती डाकाहरु र प्रहरी बीच दोहोरो भिडन्त भएको छ। प्रहरीले दुई जना डाकाहरुलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वर ल्याउने क्रममा डाकाहरु भाग्न खोज्दा भिडन्त भएको हो ।
महोत्तरी लगायत मधेस प्रदेश का विभिन्न जिल्लाहरुमा चोरी डकैती लगायत अपराधीक क्रियाकलाप गरेर फरार रहेका उनिहरुलाई पक्राउ गरेर ल्याउने क्रममा सोनमा गाउँपालिका ५ मा भिडन्त भएको हो ।
कार्तिक २० गतेको डकैती घटनामा संलग्न लालबन्दी नगरपालिका २ बस्ने ३२ वर्षीय शक्ती पासवान र ३३ वर्षीय अजय पासवानलाई रौतहटको गरुडा नगरपालिका ४ बाट नियन्त्रणमा लिइएको महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिँदा पासवानको साथबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली ४ थान समेत बरामद गरेको थियो । पक्राउ परेका दुवै जना गाडीबाट हामफाली भाग्न खोज्दा प्रहरीले चलाएको गोलीबाट दुवै जनाको बायाँ खुट्टाको तिघ्रामा गोली लागेको प्रवक्ता गिरीले बताए ।
दुवै घाइते अभियुक्तको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भैरहेको रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
उनिहरुलेले गत कार्तिक २० गते जलेश्वर नगरपालिका ८ का भुवनेश्वर चौधरीको घरको मुलढोका लगायतको घरको ढोकाहरूको ताल्चा फुटाइ घरबाट ४० तोला सुनको गरगहना, चाँदीको ४५ तोलाको गरगहना, एक थान मोबाइल, नगद १ लाख ७५ हजार रकम लुटेको आरोप छ ।
महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार पक्राउ परेका डाकाहरु माथि विभिन्न किसिमको ११ ओटा मुद्दा चलिरहेको छ । उनिहरुले कार्तिक महिना भित्र मात्र महोत्तरीमा २ धनुषामा १ र रौतहटमा १ डकैती र लुटपाट गरेका छन् । उनिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० को दफा २४४ बमोजिम सजाय हुने एसपी मल्लले बताए ।
वि.सं.२०८० कात्तिक २९ बुधवार ०९:५१