आगो ताप्ने क्रममा जलेर घाइते भएकी निजगढ ७ की वृद्धाको उपचारका क्रममा निधन
वि.सं.२०८२ पुस २५ शुक्रवार २०:४८

बारा– निजगढ नगरपालिका–७ लिची टोलकी ७५ वर्षीया रामकुमारी देवी साहको उपचारका क्रममा आज साँझ काठमाडौँमा निधन भएको छ ।
आफ्नै घरको आँगनमा घुर बालेर आगो ताप्ने क्रममा गत पुष १९ गते बिहान साडीबाट आगो सल्किँदा साह गम्भीर रूपमा घाइते हुनुभएको थियो । शरीरको ठूलो भाग जलेपछि उहाँलाई तत्काल वीरगञ्जस्थित वयोधा अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पतालमा रिफर गरिएको पारिवारिक स्रोतले जनाएको छ।
शिक्षण अस्पतालमा उपचाररत साहको आज साँझ ५ः४५ बजे निधन भएको छोरा दिनानाथ साहले जानकारी दिए । उनले सामाजिक सञ्जालमार्फत माफ गर्नु होला आमा, तपाईलाई हामीजे गर्दा पनि बचाउन सकेनौं । हजुर को स्वर्ग मा बास होस । दिनानाथ श्री नेरामाबिका प्रधानाध्यापक हुन् ।
स्वर्गीय साहका तीन छोरा, तीन छोरी र श्रीमान् रहेका छन् ।
स्वर्गीय साहको पूर्खौली घर बाराको पचरौता नगरपालिकामा रहेको र उनको अन्त्येष्टि शनिबार पचरौतामै गरिने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ।
वि.सं.२०८२ पुस २५ शुक्रवार २०:४८

















