निजगढमा ट्रान्सफर्मर चोरीको श्रृंखला, तामा निकाल्ने गिरोह सक्रिय आशंका
वि.सं.२०८२ फागुन २४ आइतवार २१:३७

बारा-बारा जिल्लाको निजगढ क्षेत्रमा ट्रान्सफर्मर चोरीका घटना पुनः बढ्न थालेका छन्। ११ केभिए करेन्ट प्रवाह भइरहेको ट्रान्सफर्मर खोलेर तामा निकाल्ने गिरोह सक्रिय रहेको आशंका गरिएको छ।
फागुन १५ गते निजगढ नगरपालिका–७ मा रहेको खानेपानी योजनामा प्रयोग गरिएको पानी तान्ने बोरिङ्गमा जडान गरिएको ट्रान्सफर्मर रातारात चोरी भएको थियो। सो घटनाको अनुसन्धान जारी रहेकै अवस्थामा फेरि अर्को चोरीको घटना सार्वजनिक भएको छ।
स्थानीयका अनुसार आइतबार राति निजगढ नगरपालिका–९ मा सिँचाइका लागि प्रयोग भइरहेको बोरिङ्गमा जडान गरिएको ट्रान्सफर्मर पनि अज्ञात समूहले चोरी गरेर लगेको छ।
यसअघि करिब एक वर्षअघि पनि निजगढ–८ मा रहेको सिँचाइको बोरिङ्गमा जडान गरिएको ट्रान्सफर्मर यस्तै तरिकाले चोरी भएको थियो। लगातार ट्रान्सफर्मर चोरीका घटना दोहोरिन थालेपछि स्थानीयमा त्रास बढेको छ भने सम्बन्धित निकायको सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठ्न थालेको छ।
हालसम्म यी घटनामा संलग्न कोही पनि पक्राउ पर्न सकेका छैनन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
वि.सं.२०८२ फागुन २४ आइतवार २१:३७
















