भोटेकोशी बाढीबाट भएको क्षतिप्रति निजगढ नगरपालिकाद्वारा दुःख व्यक्त
वि.सं.२०८३ भदौ ११ बिहीवार २१:११

बारा- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति निजगढ नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ।
नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको हो। साथै, बाढीबाट घाइते तथा प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
बाढीका कारण घर, भवन, सडक, पुल, कृषि, पशुधन तथा अन्य भौतिक सम्पत्तिमा पुगेको क्षतिप्रति समेत नगरपालिकाले दुःख व्यक्त गरेको छ।
विपद्को यस दुःखद् घडीमा प्रभावित नागरिकहरूको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सम्बन्धित सबै पक्षसँग आवश्यक समन्वय र सहकार्य गर्ने नगरपालिकाले जनाएको छ।
नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको तर्फबाट मानवीय सहायता स्वरूप नेपाल सरकारले तोकेको सम्बन्धित राहत कोषमा रकम जम्मा गरिने समेत विज्ञप्तिमा उल्लेख छ।
नगर प्रमुख सुरथ पुरीद्वारा जारी विज्ञप्तिमार्फत बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्निर्माण तथा मानवीय सहायतामा यथासम्भव सहभागी हुन सम्बन्धित सबैमा हार्दिक अपिल गरिएको छ।
वि.सं.२०८३ भदौ ११ बिहीवार २१:११

















