जीतपुरसिमरा उपमहानगरपालिकाले बाढी प्रभावितका लागि ११ लाख सहयोग गर्ने
वि.सं.२०८३ भदौ ११ बिहीवार २०:५३

बारा-जीतपुरसिमरा उपमहानगरपालिकाले रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाको नगर कार्यपालिकाको ६९ औँ बैठकले बाढी प्रभावित क्षेत्रमा राहतस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपमहानगरपालिकाको तर्फबाट ११ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
बैठकले कार्यपालिका सदस्यहरूले समेत आफ्नो सेवा सुविधाबाट सहयोग गर्ने निर्णय गरेको छ। जसअनुसार नगर प्रमुखले १० हजार, नगर उपप्रमुखले ५ हजार तथा वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूले जनही २ हजार रुपैयाँ सहयोग गर्ने भएका छन्।
यस्तै, वडा कार्यालयहरूले थप सहयोग गर्न चाहेमा वडा स्तरीय निर्णयबाट सहयोग गर्न सकिने व्यवस्था गरिएको छ। उपमहानगरपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकहरूलाई समेत आफ्नो सेवा सुविधाबाट स्वेच्छिक सहयोग गर्न आह्वान गर्ने निर्णय भएको छ।
बैठकले बाढीका कारण रसुवाको भोटेकोशी क्षेत्रमा फसेका वा प्रभावित जीतपुरसिमरा उपमहानगरवासीको यथार्थ अवस्था बुझ्न सम्बन्धित वडा कार्यालयमार्फत तथ्यांक संकलन गर्ने निर्णयसमेत गरेको छ।
बाढी प्रभावित उपमहानगरवासीका सम्बन्धमा आवश्यक सूचना तथा समन्वयका लागि उपमहानगरपालिकाले सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ। उमेश बाग्ले (उपसचिव) लाई ९८६०८१११११ तथा रविन कुमार खड्का (नगर प्रहरी इन्चार्ज) लाई ९८५५०२९११० / ९८६६१२९९१६० मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
वि.सं.२०८३ भदौ ११ बिहीवार २०:५३

















