वार्षिकोत्सवमा खर्चिने रकम विपद् पीडितका लागि सहयोग गर्दै मेची–महाकाली बुहारी संयुक्त आवाज बारा
वि.सं.२०८३ भदौ १५ सोमवार २१:५९

बारा-मेची–महाकाली बुहारी संयुक्त आवाज बारा परिवारले आफ्नो वार्षिकोत्सवको अवसरमा विपद् प्रभावितहरूका लागि आर्थिक सहयोग गरेको छ ।
संस्थाले विगतदेखि नै आफ्नो वार्षिकोत्सव असहाय तथा पीडितहरूको दुःखमा मलहम लगाउने उद्देश्यका साथ मनाउँदै आएको जनाएको छ । यसैक्रममा यस वर्ष पनि वार्षिकोत्सवमा हुने खर्चलाई कटौती गर्दै रसुवा, नुवाकोट र धादिङमा हालै आएको प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्ने निर्णय गरिएको हो ।
संस्थाका अनुसार २०८३ साल भदौ १० गते रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा भएको विपद्बाट प्रभावितहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले युथ अफ निजगढको साथमा सानो सहयोग रकम पठाइएको अध्यक्ष चन्द्रिका पुलामी मगरले बताईन् ।
संस्थाले संकटको यस घडीमा गरिएको सानो सहयोगले पीडित परिवारको चुलो बल्न सकोस् र बालबालिकाले तातो पानी पिउन पाऊन् भन्ने अपेक्षा व्यक्त गरेको छ । साथै, विपद्मा फसेका जीवित व्यक्तिहरूको शीघ्र उद्धार गर्न सक्ने शक्ति भगवानले प्रदान गरून् भन्दै उद्धार भइसकेकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
विपद्मा परी ज्यान गुमाउनेहरूप्रति संस्थाले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान होस् भन्ने प्रार्थना पनि गरेको छ ।
मेची–महाकाली बुहारी संयुक्त आवाज बारा परिवारले विपद्को समयमा सबैलाई आ–आफ्नो क्षमताअनुसार सहयोग र मानवीय सेवामा जुट्न आग्रह गरेको छ ।
वि.सं.२०८३ भदौ १५ सोमवार २१:५९

















