skip this

जंगलमा गाडेको अवस्थामा भेटियो स्कुलबाट फर्किँदा हराएकी बालिकाको शव

1.41K shares
oil-nigam-amlekhgunj-adv.jpeg

मोरङ । उत्तरी मोरङको लेटाङस्थित स्थानीय लालहिरा सामुदायिक वनमा १२ वर्षीय बालिकाको शव फेला परेको छ ।
लेटाङ भोगटेनी नगरपालिका –८, ज्यामिरे टोलकी १२ वर्षीया करूणा राईको शव खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जिल मुकारूङले जानकारी दिए ।
‘शव नग्न अवस्थामा फेला परेको थियो। पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको छ,’ डिएसपी मुकारुङले भने ।
प्रहरीका अनुसार जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत राई बुधबार दिउँसो ४ बजेदेखि विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन्।
बालिका बेपत्ता भएपछि खोजतलासका लागि परिवारका सदस्यले प्रहरीलाई आग्रह गरेका थिए ।
इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले शुक्रबार शव फेला पारेको हो।
प्रहरीका अनुसार बालिकाको शरीरका विभिन्न भागमा चोट छ।
पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा थप भन्न सकिने डिएसपी मुकारुङले बताए ।
उनका अनुसार घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक वृद्धसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

nijgadh-supermart-adz1200-630