३० हजार राशिको मनकुमारी साम्पाङ दुमि राई खेलकुद पुरस्कारबाट कबड्डी खेलाडी सम्झना पुरस्कृत
गृह जिल्लाले विर्सेको गुनासो
वि.सं.२०७९ साउन २५ बुधवार १३:२२

काठमाण्डौं–राष्ट्रिय कबड्डी खेलाडी सम्झना देवास राईले ३० हजार राशिको मनकुमारी साम्पाङ दुमि राई खेलकुद पुरस्कार प्राप्त गरेकी छिन् ।
बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ महेन्द्रनगरकी सम्झनालाई ललितपुरको मानभवनमा आयोजित किराँत राई यायोक्खाको ३५ औं स्थापना दिवसमा ताम्रपत्र सहित नगदबाट सम्मान गरिएको हो ।
मोफसलमा बसेर कबड्डी खेलकुदमा बिगत डेढ दशकदेखी निरन्तर रुपमा सकृय भई खेल क्षेत्रमा योगदान पु¥याउँदै आएकी छिन् ।
खेलकुदमार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरि किरात राई समुदायको गरिमा उच्च बनाउने कार्य गरे वापत सम्झनालाई यो पुरस्कारबाट सम्मान गरिएको यायोक्खाले जनाएको छ ।
२०१६ मा भारतको आसाममा भएको १२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साफ) मा उनले कास्य पदक प्राप्त गरेकी थिईन भने विभिन्न समयमा नेपालमै भएका प्रतियोगितामा समेत उनले पदक प्राप्त गरेकी छिन् ।

सम्मानबाट उत्साहित
कबड्डी खेलाडी सम्झना पुरस्कृत भएपछि उत्साहित देखिएकी छिन् । एक महिनाअघि किराँत राई खेलकुद संघ खोटाङ्गबाट २० हजार नगद सहित सम्मानित भएकी सम्झनाले आईतबार मनकुमारी साम्पाङ दुमि राई खेलकुद पुरस्कार प्राप्त गरिन् ।

गृह प्रदेश र जिल्लामा पहिचान नगरेको खेलाडीलाई बाहिरी जिल्लाबाट सम्मान भईरहेकोमा उनी आश्चर्यमा छिन् । खेलकुद क्षेत्रमा योगदान गर्ने मजस्तै धेरैलाई गृह क्षेत्रमा उचित सम्मान हुन नसकेको बताउछिन् उनी । ‘आफ्नै क्षेत्रमा वेवास्था गरेको देख्दा निकै दुख लाग्ने रैछ,’ उनले भनिन्–राष्ट्रका लागि खेलेको थिँए । राई समुदायले गरेको सम्मान र पुरस्कारबाट धेरै खुशी छु । तर राई समुदायले मात्रै सम्झीने अरुले विर्सने गरेकोमा भने दुखित छु ।’

वि.सं.२०७९ साउन २५ बुधवार १३:२२
















