नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको भूकम्पमा परेर मृत्यु
वि.सं.२०८० कात्तिक १८ शनिवार ०८:०४

सुर्खेत-जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिए ।
‘उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उहाँको मृत्यु भएको हो,’ रोकाले भने । सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।
जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा परेर ९२ जनाको मृत्यु भएको छ । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर ६ः४ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ ।
भूकम्पका कारण ५५ जना घाइते भएका छन् । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार भैरहेको छ । अस्पताले केही घाइतेहरूलाई सुखेततर्फ रिफर गरेको छ ।
त्यस्तै भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताए । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् ।घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
वि.सं.२०८० कात्तिक १८ शनिवार ०८:०४

















