सतिदेवीको बङ्गरा पतन भएको शक्ति खोलामा हरिबोधिनी एकादशी मेलाको रौनक (फोटो फिचर)
वि.सं.२०८० मंसिर ७ बिहीवार १९:१९
बारा–भगवान शिवले सतिदेवीको मृत शरिर बोकेर हिंडेको बेलामा सतिदेवीका अङ्गहरू संसारका विभिन्न ठाउँहरूमा पतन भएको थिए ।
चुरे पहाडसँग जोडिएको बाराको निजगढ नगरपालिका–१३ मा रहेको शक्ति खोला खोँचमा सतिदेवीको बङ्गरा पतन भएको श्रीस्वस्तानी ब्रत कथामा उल्लेख छ ।
जुन ठाउँमा सतिअंग पतन भए त्यस ठाउँमा एक एक वटा देवी, योगीनी र महादेव उत्पन्न भएर शिवशक्ती स्वरूपले रहेका छन् । त्यसैमध्ये शक्तिश्वर महादेव मन्दिर क्षेत्रमा विहीबार हरिबोधिनी एकादशी मेलाको रौनक देखिएको छ ।
मधेस प्रदेशको पर्यटकीय गन्तव्यको रुपमा लोकप्रिय हुँदै गएको यो क्षेत्रमा परापूर्वकालदेखि हरिबोधिनी एकादशी मेला लाग्ने गरेको छ ।
मेलामा विभिन्न संस्कृतिक नृत्य, खेल र मनोरञ्जनात्मक स्टलहरु राखिएका थिए ।
विहिबार बिहानैदेखि नदी किनारमा फूल तार्ने र पूजा गर्ने भक्तजनको भिड लागेको मेला आयोजक समितिका अध्यक्ष दिपक न्यौपाने बताउँछन् ।
हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसी भगवान् विष्णुको आराधना गरिन्छ ।
भगवान विष्णुको प्रतीकको रुपमा घरघरमा तुलसीको पूजा पनि गरीन्छ । यसै दिन भगवान विष्णुको तुलसीरुपी लक्ष्मीसँग विवाह भएको मान्यताका आधारमा तुलसी विवाह पनि गरिदिने चलन छ ।
मेलामा बारा, मकवानपुर, पर्सा जिल्लाका विभिन्न गाउँबाट ठुलो संख्यामा श्रद्धालु भक्तजनहरु मेल भर्न आएको वडा अध्यक्ष सुर्य घलानले बताए । उनले शक्ति क्षेत्र प्रदेशकै पर्यटकीय क्षेत्रका रुपमा परिचित भएपनि भौतिक संरचना लगायतका क्षेत्रमा काम हुन नसक्दा अझैं ओझेलमा रहेको बताए ।
नगरको नेतृत्वले ध्यान नदिदा वडाले मात्र चाहेर धेरै काम गर्न नसकिएको बताउँदै पहिलो कार्यकालमा मन्दिरको संरचना, खानेपानी, शौचालय लगायतका केही काम भने सुरुवात गरिएको जानकारी दिए ।
हेर्नुस् तस्वीरहरु :
वि.सं.२०८० मंसिर ७ बिहीवार १९:१९