पल्सर बाईकको सिट मुनी लुकाएर अफिम तस्करी ! अम्लेखगञ्ज प्रहरीको चेकिङ्गमा परे फन्दामा

वि.सं.२०८१ फागुन १३ मंगलवार २१:३०

बारा–बाराको अमलेखगञ्जबाट प्रहरीले डेढ किलो लागूऔषध अफिमसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–६ पकनीका २१ वर्षीय रवीन्द्र मोक्तान रहेका छन् ।
हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको बा ६३ प ८२६२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा रहेको टोलीले अफिम बरामद गरेको हो ।
पल्सर मोटरसाइकलको सिटमुनि लुकाएर राखिएको एक किलो सात सय ५० ग्राम अफिम बरामद भएपछि मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलिपकुमार थापाले बताए ।
मोक्तानलाई बारा जिल्ला अदालतबाट लागूऔषध मुद्दामा १० दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको उनले बताए ।

वि.सं.२०८१ फागुन १३ मंगलवार २१:३०