skip this farak Kura Pravakar

उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको जिम्मेवारी दिन सर्वोच्चको आदेश

519 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काराकास-भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलस मादुरो अनुपस्थित रहेको अवस्थामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नुपर्ने फैसला गरेको छ।

अदालतको यो आदेशलाई देशमा उत्पन्न असामान्य राजनीतिक परिस्थितिका बीच सरकारको निरन्तरता सुनिश्चित गर्ने कदमका रूपमा हेरिएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार,सर्वोच्च अदालतले राष्ट्रपतिको अनुपस्थितिका कारण राज्यसत्ता शून्य नहोस्, सरकारी संयन्त्र अवरुद्ध नहोस् र राष्ट्रिय सुरक्षा कमजोर नपरोस् भन्ने उद्देश्यले उपराष्ट्रपतिलाई अस्थायी रूपमा राष्ट्रपतिको जिम्मेवारी दिनु आवश्यक ठहर गरेको हो।

अदालतको आदेशमा भनिएको छ, ‘प्रशासनिक निरन्तरता कायम राख्न,सरकारी निर्णय प्रक्रिया सुचारु राख्न तथा देशको सार्वभौमसत्ता र सुरक्षा सुनिश्चित गर्न अन्तरिम नेतृत्व अपरिहार्य हुन्छ।’ यसै आधारमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको भूमिका प्रदान गरिएको जनाइएको छ।

साथै,अदालतले राष्ट्रपतिको जबरजस्ती,असामान्य वा अप्रत्याशित अनुपस्थिति जस्ता अवस्थामा लागू हुने संवैधानिक तथा कानुनी प्रबन्धहरूबारे थप व्याख्या आवश्यक रहेको उल्लेख गरेको छ। यस विषयमा विस्तृत कानुनी समीक्षा र थप विचार–विमर्श गरिने अदालतको भनाइ छ।

भेनेजुएलामा पछिल्लो समय राजनीतिक तनाव चुलिँदै गएको छ। राष्ट्रपति मादुरोको अवस्थाबारे अन्तर्राष्ट्रिय स्तरमा विभिन्न अड्कलबाजी भइरहेका बेला सर्वोच्च अदालतको यो फैसला आएको हो। विश्लेषकहरूका अनुसार अदालतको निर्णय सत्ताको निरन्तरता कायम राख्ने प्रयास भए पनि यसले देशभित्रको राजनीतिक ध्रुवीकरण अझ गहिरिन सक्ने सम्भावना पनि देखिएको छ।

उपराष्ट्रपति डेल्सी रोड्रिगेज मादुरो सरकारकी प्रभावशाली नेतृका रूपमा चिनिन्छिन्। उनी यसअघि विदेश मन्त्रीलगायत महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेकी छन् र सरकारको नीतिगत निर्णयमा निकट भूमिकामा रहँदै आएकी छन्। अन्तरिम राष्ट्रपतिको रूपमा उनको जिम्मेवारीले सरकारको दैनिक प्रशासन, सुरक्षा निकायको समन्वय तथा अन्तर्राष्ट्रिय सम्बन्धमा निरन्तरता कायम राख्ने अपेक्षा गरिएको छ।

सर्वोच्च अदालतको यस आदेशले भेनेजुएलाको वर्तमान राजनीतिक संकटमा नयाँ मोड ल्याएको छ। अब अदालतले राष्ट्रपतिको अनुपस्थितिसँग सम्बन्धित संवैधानिक व्याख्या स्पष्ट पार्ने प्रक्रिया अघि बढाउने बताइएको छ जसको असर देशको आगामी राजनीतिक दिशा र सत्ता संरचनामा पर्ने देखिएको छ।

अमेरिकाले दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा आक्रमण गरी यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई कब्जामा लिएको छ। अमेरिकामा लागुऔषध कारोबार,विभिन्न अपराधमा संलग्न व्यक्ति र समूहसँग मादुरोको सम्बन्ध रहेको र अमेरिकालाई नोक्सानी पुगेका आतंकवादी घटनाहरूमा पनि उनको संलग्नता रहेको दाबी अमेरिकाको रहेको छ।

उनलाई कब्जामा लिइएपछि भेनेजुएलामा थप क्षति हुन नदिइने दाबी पनि अमेरिकाको रहेको छ। कब्जामा लिइएका मादुरोलाई अपराधिक घटनामा संलग्न रहेकोमा मुद्दामा कारबाही अघि बढाइने बताइएको छ।

nijgadh-supermart-adz1200-630