जिल्ला अदालत अस्तव्यस्त
वि.सं.२०७८ चैत ५ शनिवार १६:४३

झापा । प्रशासनिक नेतृत्व सम्हालेका श्रेस्तेदार कार्यालयमा उपस्थित नहुँदा झापा जिल्ला अदालत अस्तव्यस्त बनेको छ ।
जिल्ला अदालत झापाका श्रेस्तेदार वीरेन्द्र बस्नेत कार्यालय नआउँदा महत्त्वपूर्ण कामकाज अलपत्र परेका छन् । सामान्यतया जिल्ला अदालतको श्रेस्तेदारमा पेशी व्यवस्थापनदेखि दैनिक प्रशासनको महत्त्वपूर्ण कार्यभारको क्षेत्राधिकार रहन्छ ।
सात जना जिल्ला न्यायाधीश रहेको झापा जिल्ला अदालतमा दैनिक पेशी व्यवस्थापन गर्ने गोला प्रणालीमा समेत शाखा अधिकृतको नेतृत्व देखेपछि न्यायाधीशहरुले १ नम्बरमा रहेका न्यायाधीश गिरीराज गौतमको ध्यानाकर्षण गराएको एक न्यायाधीशले जानकारी दिए ।
झापा जिल्ला अदालत काठमाडौं उपत्यकाका जिल्ला अदालतहरूपछि सबैभन्दा बढी मुद्दा रहेका अदालत मध्येको एक हो ।
मुद्दामा धेरै चाप भएको झापा जिल्ला अदालतमा गत आर्थिक वर्षको तथ्याङ्लाई हेर्ने हो भने करिब ४१ सय मुद्दाको लगत देखिन्छ । यसमा जम्मा साढे १६ सय मुद्दाको फर्छ्यौट भएको छ । यो जम्मा लगतको ४० प्रतिशत मात्रै हो ।
यसमा पनि महत्त्वपूर्ण मुद्दाको चाप भएको झापा जिल्ला अदालतमा स्रेस्तेदारको मनोमानी काठमाडौ भ्रमणले अस्तव्यस्त छ । यस विषयमा जानकारी लिँदा झापा जिल्ला अदालतका तहसिलदार गणेश पाण्डेले दाँतको उपचार गर्न काठमाडौ गएको जानकारी दिए ।
वि.सं.२०७८ चैत ५ शनिवार १६:४३

















