महसुल नतिरेपछि मुख्यमन्त्री लालबावु राउतको घरको खानेपानीको लाइन काटियो
वि.सं.२०७८ चैत ८ मंगलवार १२:२४

वीरगञ्ज । नेपाल खानेपानी संस्थान वीरगन्ज शाखाद्वारा मधेश प्रदेशका मुख्यमन्त्री लालबावु राउतको बुवाको नाममा रहेको खानेपानीको लाईन काटिएको छ ।
वीरगञ्ज स्थित तेजारथ टोलमा रहेको राउतको निजी निवासमा रहेको खानेपानीको लाईन काट्न नेपाल खानेपानी संस्थानले सूचना जारी गरेको छ ।
खानेपानी संस्थान वीरगन्जले सूचना जारी गरी खानेपानी संस्थानलाई तिर्नुपर्ने बक्यौता रकम नतिरेपछि कालो सूचिमा राखी लाइन काटिएको उल्लेख गरिएको छ ।
मुख्यमन्त्री राउतका पिता दशरथ राउत गद्दीको नाउँमा रहेको खानेपानीको १ लाख ६३ हजार २ सय १६ रुपैयाँ बक्यौता रहेकाले लाइन काट्नु परेको खानेपानी संस्थानले स्पष्ट गरेको छ ।
नेपाल विद्युत प्राधिकरणको जानकी मन्दिरमाथि बाँकी रहेको महसुल मुख्यमन्त्री राउतले आफ्ना एकजना सल्लाहकारका विवाहको वार्षिकोत्सवको अवसरमा मिन्हाका लागि संघीय सरकारलाई मन्त्रिपरिषद्बाट निर्णय गरी सिफारिस गरेका छन् ।
वीरगञ्जका अधिकांश नेता र ठूला व्यवसायीहरुले खानेपानी संस्थानको महसुल नतिरी पानी उपभोग गरिरहेको खानेपानी संस्थानको तथ्यांकबाट देखिन्छ ।
खानेपानीको महसुल बक्यौता रहेकाहरुको सूचना प्रकाशन गर्दै लाइन काटिने संस्थान वीरगन्जका शाखा प्रमुख निरण महर्जनले बताएका छन् ।
वि.सं.२०७८ चैत ८ मंगलवार १२:२४
















