गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाइने भन्ने प्रचारप्रति कुनै सत्यता छैन– माधव नेपाल
वि.सं.२०७९ मंसिर २९ बिहीवार १०:४१

काठमाडौं । गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाइने भन्ने प्रचारप्रति कुनै सत्यता नरहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन चलखेल भइरहेको भनेर बाहिर हल्ला गरिएपनि त्यसमा सत्यता नभएको बताएका हुन् ।उनले गैर राजनीतिक बौद्धिक, सामाजिक, प्राज्ञिक व्यक्तिलाई राष्ट्रपति बनाउन संविधानबाट रोकावट नभएपनि अहिले त्यसबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको बताएका छन् । उनले राष्ट्रपतिका लागि राजनीतिक व्यक्ति नै हुनुपर्छ भन्ने नभएको नेता नेपालको भनाइ छ ।
मंसिर ४ मा सम्पन्न आम निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने अध्यक्ष नेपालले बताएका छन् ।उनले ‘निर्वाचनको अन्तिम परिणाम आयोगले राष्ट्रपतिलाई बुझाएपछि सरकार गठनको ढोका खुल्ने र त्यसपछि सरकार गठनका लागि दलहरुले पनि केही प्रक्रिया पुरा गर्नुपर्ने जिकिर गरेका छन् । त्यो प्रक्रिया पुरा गरेर सत्ता गठबन्धन सरकार गठन गर्न लाग्ने नेता नेपालको भनाई छ । अहिलेसम्म सत्ता गठबन्धनबीच पावर सेयरिङबारे कुनै छलफल नभएको अध्यक्ष नेपालले बताएका छन् ।
उनले सत्ता गठबनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसमा प्रधानमन्त्रीका आकांक्षी धेरै देखिएकाले नयाँ सरकार गठनमा केही ढिलाई हुनसक्ने पनि बताएका छन् ।पावर सेयरिङमा आफ्नो पार्टीले सम्मानजनक हैसियत खोज्नु स्वाभाविक रहेको अध्यक्ष नेपालको भनाइ छ । नेकपा एमालेसँग सहकार्यको सम्भावनाबारे सोधिएको प्रश्नमा अध्यक्ष नेपालले एमालेबाट सहकार्यका लागि अहिलेसम्म कुनै ठोस प्रस्ताव नआएको जनाएका छन् ।
वि.सं.२०७९ मंसिर २९ बिहीवार १०:४१

















