skip this yams_Max_Hospital.jpeg

हिमोफिलिया भएका व्यक्तिहरूको समस्या प्रति गम्भिर हुन आग्रह

भूमिकला पौडेल

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg


काठमाडौं–
हिमोफिलिया भएका व्यक्तिहरूका लागि अत्यन्तै आवश्यक तत्व फ्याक्टर तथा प्लाज्मा सहज रूपमा प्राप्त गर्न नसकेको कारणले प्रत्येक वर्ष धेरै हिमोफिलिया भएका व्यक्तिहरूले मृत्युवरण गर्न विवश हुनुपरेको छ ।

हिमोफिलिया सोसाइटी नेपालको ३० औं बार्षिक साधारण सभाको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा सो कुरा बताइएको हो ।

सो कार्यक्रमलाई सम्वोधन गर्दै विभिन्न वक्ताहरूले अत्यन्तै सहज तथा सुलभ रूपमा हिमोफिलिया भएका व्यक्तिहरूका लागि आवश्यक तत्व फ्याक्टर तथा प्लाज्मा उपलव्ध गराउनका लागि सरकारसँग माग गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथीको रूपमा रहेका राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित होस भन्ने उद्धश्यले नै आफूले संकल्प प्रस्ताव पारित गरेको स्मरण गराउँदै यसका लागि सबै एकजुट भएर पहल गर्न आग्रह गरे ।

हिमोफिलिया सोसाइटी नेपालका अध्यक्ष मुकुन्दमणि घिमिरेले सोसाईटीको प्रत्येक वर्षको साधारण सभाको कार्यक्रम गर्दा हिमोफिलिया भएका व्यक्तिहरू कसै न कसैलाई गुमाएर श्रद्धान्जली दिनैपर्ने अवस्था रहेको पीडा व्यक्त गर्दै हिमोफिलिया भएका व्यक्तिहरूलाई जीवन बचाइदिनका लागि सरकारसँग आग्रह गरे ।

उनले हिमोफिलियालाई सरकारले अपाङ्गताको वर्गिकरण भित्र राखिसकेको हुनाले हिमोफिलिया सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नका लागि पनि जोड दिए ।

हिमोफिलिया सोसाइटी नेपालका अध्यक्ष मुकुन्दमणि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा हिमोफिलिया सोसाइटी नेपालका बरिष्ठ उपाध्यक्ष प्रेम देवानले स्वागत र महासचिव रेशम रानाभाटले सहजिकरण गरेका थिए ।

कार्यक्रममा हिमोफिलियाको क्षेत्रमा महत्वपूर्ण योगदान गरेका व्यक्ति तथा संस्थाहरूलाई सम्मानित पनि गरिएको थियो ।

nijgadh-supermart-adz1200-630