skip this farak Kura Pravakar

कार्डबाट सार्वजनिक यातायातको भाडा भुक्तानी सुरु गर्ने बागमती प्रदेश सरकारको निर्णय

969 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा कार्डबाट तिर्ने व्यवस्था लागु गर्ने भएको छ । बुधबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले यात्रुहरूको सहजताको लागि क्यासलेस प्रविधिबाट भाडा भुक्तानी प्रविधि सुरु गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै यात्रुको सहजता, सरलता र चुस्तताका लागि क्यासलेस प्रविधि सुरु गर्न लागेको बताए ।
हालसम्म यात्रुवाहक सवारीले भाडा लिँदा खुद्रा रकम नभएको भन्दै बढी भाडा लिँदै आएकाले त्यसको न्यूनीकरणका लागि र वर्तमान समयको आवश्यकता पनि भएकाले कार्डबाट भाडा भुक्तानी प्रविधि महत्वपूर्ण हुने भएकाले सरकार त्यसतर्फ लागेको उनको भनाइ छ ।
निश्चित मापदण्ड तयार पारी सो प्रविधि भित्र्याएर पारदर्शी रुपमा प्रदेशमा चल्ने यातायातले सो विधि लागु गर्नु पर्ने र त्यसका लागि प्रक्रिया सुरु गर्ने उनले बताए ।
`हामीले सार्वजनिक यात्रुवाहक सवारी प्रयोग गर्दा २७ रुपैयाँ दरको भाडा तिर्दा ३० रुपैयाँ दिँदै आएका छौं । ती सवारीहरूले खुद्रा पैसा नभएको भन्दै यात्रुलाई ३ रुपैयाँ भाडा फिर्ता नगर्दा यात्रुहरु ठगिँदै आएका थिए । त्यसलाई नियनत्रण गर्न र पारदर्शी बनाउन पनि क्यासलेस प्रविधि ल्याउने तर्फ सरकार लागेको हो,’ उनले भने ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको स्थापना दिवस नमनाउने भएको छ । हरेक वर्ष माघ २९ गते मनाइँदै आएको प्रदेश सरकार स्थापना दिवस यस वर्षदेखि नमनाउने निर्णय गरेका मन्त्री खनालले बताए ।
स्थापना दिवसमा वितरण हुने विभूषण, सम्मान तथा पुरस्कारहरू अन्य कुनै अवसरमा वितरण गर्ने र त्यसको लागि उपयुक्त समय निर्धारण गरी प्रस्ताव ल्याउनको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई जिम्मेवारी दिएको उनले बताए ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरपालिकाको प्रशासकीय भवन निर्माणको लागि ५० प्रतिशत लागत रकम प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिकाले प्रशासकीय भवन निर्माणको लागि स्रोत सुनिश्चितताको लागि गरेको आग्रह अनुसार ५० प्रतिशत खर्च सरकारले व्यहोर्ने निर्णय गरेको मन्त्री खनालले बताए ।

nijgadh-supermart-adz1200-630