skip this

‘हानिकारक परम्परागत अभ्यासको अन्त्य आफैँबाट गरौं’

1.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सप्तरी । समाजमा हुने हानिकारक परम्परागत अभ्यासलाई अन्त्य गर्न आफैँबाट सुरु गर्नुपर्ने कार्यक्रमका सहभागीले बताएका छन् ।

इन्सेकको संयोजनमा राष्ट्रिय महिला आयोगद्वारा राजविराजमा आयोजित ‘समाजमा विद्यमान हानिकारक परम्परागत अभ्यास’ सम्बन्धी अन्तक्र्रिया कार्यक्रमका सहभागीले उक्त कुरा बताएका हुन् ।

सो अवसरमा राष्ट्रिय महिला आयोगकी सदस्य जया घिमिरेले सबैको मन मष्तिष्कमा हिंसा नगर्ने, नगराउने सोंच तथा कसैले गरेमा प्रतिवाद गर्ने र पीडितका पक्षमा वकालत गर्ने क्षमता विकास गर्न जरुरी रहेको बताउनुभयो ।

सामाजिक रुपान्तरणका साथै राजनीतिक प्रतिबद्धता, सुझबुझपूर्ण राजनीतिक नेतृत्व र सही सोंचबाट सञ्चालित रुपान्तरणमुखी साझा अभियानका माध्यमबाट मात्र हानिकारक परम्परागत अभ्यासको अन्त्य सम्भव रहेको बताउँदै उहाँले साझा अभियानलाई प्रभावकारीरुपमा सञ्चालन गरी सफल पार्न सबैसँग अनुरोध गर्नुभयो ।

जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले महिला र पुरुष दुबै समान हुन् भन्दै समाजमा भएका हानिकारक अभ्यासलाई अन्त्य गर्नुपर्छ भन्ने मनमा लागे पनि परम्परादेखि चलिआएको रीतिरिवाजलाई अन्त्य गर्न समय लाग्ने बताउनुभयो । हानिकारक अभ्यासका लागि महिला पुरुष सबै दोषी रहेकाले यसको अन्त्यका लागि पनि सबैको भूमिका आवश्यक रहेको उहाँले बताउनुभयो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सरकारी सेवा, सम्पत्ति र राजनीतिमा महिलाको पहुँच बढ्दै गएको उल्लेख गर्दै महिला हिंसा र विभेद क्रमशः हट्दै गएकोमा खुसी व्यक्त गर्नुभयो ।

समाजले अङ्गीकार नगरुञ्जेल कानून कार्यान्वयनमा समेत जटिलता आउने बताउँदै उहाँले हानिकारक मान्यता हटाउन शिक्षा र चेतना अभिवृद्धिमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

यसअघि इन्सेकका प्रतिनिधि मनोहर पोखरेलले “हानिकारक अभ्यास र जिल्लाको अवस्था सरोकारवालाको भूमिका” विषयक कार्यपत्र प्रस्तुत गर्दै संरचनागत विभेद नै हिंसाको कारक रहेकाले नकारात्मक मानसिकता र व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

सप्तरी जिल्लाको हिंसाको अवस्थाको तथ्याङ्क प्रस्तुत गर्नुहुँदै उहाँले पहिलेका पुस्ताले जे भोग्यो त्यहीँ भोग्नुलाई कर्मको फल ठानेर हिंसालाई स्वाभाविक मान्ने महिला र अधिकार ठानेर हिंसा गर्ने महिला, पुरुष सबै जिम्मेवार रहेको बताउनुभयो ।

हिंसा गर्दिन, हिंसा सहन्न र हिंसा भएको देखेमा प्रतिवाद गर्छु भन्ने प्रतिबद्धता आवश्यक रहेको बताउँदै उहाँले हिंसाका घटनामा संलग्नलाई राजनीतिक संरक्षण नगरी कानूनबमोजिम हदैसम्मको कारबाही गराउन सबैको पहल आवश्यक रहेकामा जोड दिनुभयो ।

nijgadh-supermart-adz1200-630