लक्ष्मी पाण्डे ‘दीपिका’ को गजल
वि.सं.२०७८ फागुन ७ शनिवार ०८:५४
5.97K
shares

-लक्ष्मी पाण्डे “दीपिका”
जीवन एना हो यसलाई टल्काएर हेर
जीवन दृष्टि आफैतिर ढल्काएर हेर ।।
जीवन रथ अन्यथा दुर्घटनामा पर्न सक्छ
आफ्नो दृष्य आफै तिर झल्काएर हेर ।।
बाँच्न त बाँचेकै छन सबै खाले मानिसहरु
बाँच्नुको सार्थकतालाई मल्काएर हेर ।।
दुष्प्रभाबले भरिएको मनमा दियो जल्न सक्दैन
एकपटक अन्तर्मनमा आगो सल्काएर हेर ।।
चाहँदैन मानिस दुखसँग मितेरी लाउन
त्यसैले त बाँचिरहेछ दु:खैलाई पल्काएर ।।
सधै अपुरो बाँचेर पुग्न कतै सकिँदैन
अधुरो र अपुर्ण जिबन छल्काएर हेर ।।
-काठमाडौ
वि.सं.२०७८ फागुन ७ शनिवार ०८:५४
















