आजदेखि हात्तीपाइले रोगविरुद्धको अभियान
वि.सं.२०७८ फागुन २८ शनिवार ०९:०७

काठमाडाैं । झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु भएको छ ।
आजदेखि सुरु भएको अभियान एक सातासम्म चल्ने छ । यस वर्ष झापामा साढे आठ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि सेवन गराइँदै छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जिल्लामा नौ लाख ३५ जनामध्ये आठ लाख ४३ हजारलाई औषधि सेवन गराइने जानकारी दिए ।
प्रदेश नं १ मा झापा र मोरङमा मात्र यो अभियान सुरु भएको छ । झापामा दुई प्रकारका र मोरङमा तीन प्रकारका औषधि सेवन गराइने फोकल पर्सन चम्लागाईंले बताए ।
अभियानअन्तर्गत स्वास्थ्यकर्मी र स्वयम्सेवक छ÷छ सय परिचालन गरिएको छ भने उनीहरुमार्फत हात्तीपाइले रोगविरुद्धको औषधि (डीइसी) २० लाख ७२ हजार १४ डोज र एल्बेन्डाजोल नौ लाख २० हजार ८९५ डोज वितरण गरिनेछ ।
औषधि खुवाउने बेलामा छुटेका तथा रोगी व्यक्ति रोग निको भएपछि सम्बन्धित स्वास्थ्य संस्थामा गई औषधि सेवन गर्न सक्नेछन् । स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले सरकारले हात्तीपाइले रोग निवारणका लागि बर्सेनि ठूलो धनराशि खर्चिदै आएको बताए ।
झापामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन दर पनि बढ्दै गएको छ । सन् २०१२ देखि हात्तीपाइले रोगविरुद्धको अभियान सुरु भएयता औषधि सेवन दर बढ्नुका साथै रोगीको सङ्ख्यामा पनि कमी आएको छ ।
झापामा २०१२ मा जिल्लामा ५५.५९ प्रतिशतले औषधि सेवन गरेका थिए भने २०२१ मा ८५ प्रतिशतले औषधि सेवन गरेको स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क छ ।
स्वास्थ्य कार्यालय झापाले औषधि सेवनलाई शतप्रतिशतमा पु¥याउन लक्ष्य लिएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ मा २९२ मा हात्तीपाइलेका नयाँ रोगी फेला परेका छन् ।
जसमा हाइड्रोसिल १४६, खुट्टा सुन्निएका १४० र हात र स्तन सुन्निएका छ जना रहेका छन् । गत आव २०७६/०७७ मा जिल्लामा ३५१ मा हात्तीपाइले देखिएको छ ।
झापामा २४ प्रतिशत सङ्क्रमण दर रहेकोमा अहिले घटेर २.३३ जनामा झरेको छ । हात्तीपाइले लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यसले हातखुट्टा सुनिने, अण्डकोष सुनिने गर्दछ ।
यस्तै बाँकेमा पनि आजदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ ।
जिल्लाका आठवटै पालिकामा पालिकाले आ-आफ्नै तरिकाले कार्यक्रमको आयोजना गरी अभियानको सुरुवात गरेका हुन् ।
बाँकेमा जिल्लामा ५ लाख ६८ हजार मानिसलाई औषधि दिइने लक्ष्य छ । त्यसका लागि ५६० जना स्वास्थ्यकर्मी तथा ७८९ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन भएको स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोग फोकलपर्सन दुर्गा गौतमले जानकारी दिनुभयो ।
औषधि खानेले खाइरहने र नखानेले नखाइरहने गरेका कारण ६ वर्ष अघिनै सकिनु पर्ने हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान १२ औं पटक पनि जारी राख्नु पर्ने अवस्था आएको हो ।
यस वर्ष उचाइको आधारमा प्रत्यक्ष स्वास्थ्यकर्मी तथा महिला स्वयमसेविकाको निगरानीमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम छ ।
हात्तीपाइले रोग विरुद्ध तीन वटा औषधि खुवाइने छ । यसअघिका औषधिबाट रोग निवारण हुन नसकेनपछि यसपटक आइभरमेक्टिन औषधि थप गरिएको हो । आइभरमेक्टिन औषधि लुतोको उपचारमा पनि प्रयोग गरिन्छ ।
हात्तीपाइले रोगविरुद्ध खुवाइने डाइथाइलकार्बामाजिन, अल्बेन्डाजोल र आइभरमेक्टिन औषधि व्यक्तिको उचाइअनुसार खुवाउनुपर्ने हुन्छ।
जसअनुसार ९० सेमिभन्दा तल, तर २ वर्षभन्दा माथिका लाई आइभरमेक्टिन खुवाउनुपर्दैन भने डाइथाइलकार्बामाजिन र अल्बेन्डाजोल १–१ चक्की खुवाउनुपर्छ।
यस्तै, ९० सेमिदेखि ११२ सेमिसम्म, ११३ देखि १३३ सेमिसम्म, १३३ सेमिदेखि १४६ सेमिसम्म र १४७ सेमिदेखि माथिकालाई क्रमशः १, २, ३ र ४ चक्की आइभरमेक्टिन खुवाउनुपर्छ।
यसैगरी सो उचाईसमूहका लागि डाइथाइलकार्बमाजिन क्रम १, २, ३ र ४ चक्की खुवाउनुपर्छ भने अल्बेन्डाजोल सबैलाई १–१ चक्की दिन किन्छ।
दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला, दीर्घरोगी, एक हप्ता नपुगेका सुत्केरी बाहेक अरु सबैले औषधि सेवन गर्न सक्ने छन् ।
वि.सं.२०७८ फागुन २८ शनिवार ०९:०७

















