skip this

प्रकाश सपुतको गीतमा प्रचण्डको प्रतिक्रिया- उत्तेजित हुनुपर्ने छैन

3.87K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतले ल्याएको ‘पिर’ गीतबारे कोही उत्तेजित हुनुपर्ने जरूरी नभएको प्रतिक्रिया दिएका छन्।

सुदूरपश्चिम प्रदेशको धनगढीमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले ‘जनयुद्ध’ बाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने बताएका थिए।

माओवादीकै केही नेता तथा भातृ संगठन वाइसिएल र अनेरास्ववियू क्रान्तिकारीले सपुतको उक्त गीत युट्युवबाट हटाउन माग गरिरहेका बेला प्रचण्डले उत्तेजित हुनु नपर्ने बताएका छन्।

यो पनि..
‘प्रकाश–सुरक्षा’ जस्ता लडाकु–कार्यकर्ताको अब मन नदुखोस् ! गितलाई प्रतिबन्ध हैन नेता सुधारौं

‘मैले त्यो पुरै गीत हेर्न पाएको पनि छैन, अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन,’ प्रचण्डले भने, ‘तर्क वितर्क हुन्छन्, पक्ष विपक्ष हुन्छन्। त्यसलाई स्वभाविक रूपले लिनुपर्छ।’

उनले ‘जनयुद्ध’ बाट शान्ति प्रक्रिया र संविधानसभामा ल्याएको भन्नेमा पनि पक्ष र विपक्षमा बहस हुने गरेको बताए।

‘शान्ति प्रक्रियामा आएकोमा गर्व गर्ने पक्ष पनि छ। शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्‍यो भन्ने पनि छ,’ उनले भने, ‘हामी उत्तेजित हुनुपर्ने छैन। योबारे हामी गइसकेपछि सयौं वर्षसम्म पनि बहस रहन्छ।’

आफू कतार, मलेसिया जाँदा त्यहाँ काम गर्न पुगेका पूर्वलडाकुसँग कुराकानीसमेत भएको प्रचण्डले स्मरण गरेका थिए। ‘कतार, मलेसिया जाँदा त्यहाँ लडाकु दु:खपूर्ण जीवन विताइरहेका छन्। दु:ख गरे पनि कमरेड तपाईंलाई अप्ठ्यारो परेका बेला भन्नुस् हामी फेरि आउन तयार छौं, विचलित भएका छैनौं भन्नुभएको थियो,’ उनले भने।

nijgadh-supermart-adz1200-630