skip this

अत्यधिक गर्मीका कारण कलैया र वीरगञ्जका विद्यालय बन्द

39 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-तराई–मधेस क्षेत्रमा अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै कलैया उपमहानगरपालिका र वीरगञ्ज महानगरपालिकाले विद्यालयमा बिदा घोषणा गरेका छन्।

कलैया उपमहानगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार उपमहानगरअन्तर्गतका बालविकास केन्द्रदेखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालय, मन्टेश्वरीसहित, असार ११ गते बिहीबारदेखि असार १२ गते शुक्रबारसम्म बन्द रहनेछन्। उक्त बिदा वर्षे बिदाबाट कट्टा हुने जनाइएको छ।

यस्तै, वीरगञ्ज महानगरपालिकाले पनि बढ्दो गर्मी र ‘लु’ को जोखिमलाई ध्यानमा राख्दै महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिनका लागि गर्मी बिदा दिएको छ। महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनामा असार ११ गतेदेखि लागू हुने गरी बालविकासदेखि कक्षा १२ सम्मका सबै विद्यालय बन्द रहने उल्लेख गरिएको छ। यो बिदा पनि वर्षे बिदाबाट कट्टा गरिने जनाइएको छ।

पछिल्ला केही दिनयता तराई–मधेसका विभिन्न जिल्लामा तापक्रम निरन्तर बढ्दै गएको छ। अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बन्दै गएको छ भने स्वास्थ्यसम्बन्धी जोखिमसमेत बढ्न थालेको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू बढी प्रभावित हुन सक्ने भएकाले स्थानीय तहहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।

स्थानीय प्रशासन तथा स्वास्थ्यकर्मीहरूले अत्यावश्यक कामबाहेक दिउँसोको समयमा घरबाहिर ननिस्कन, प्रशस्त पानी पिउन तथा गर्मीबाट बच्ने उपाय अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन्।

nijgadh-supermart-adz1200-630