नेकपा एसका जनप्रतिनिधिलाई सोही ठाउँ छाड्ने सत्ता गठबन्धनको निर्णय
वि.सं.२०७८ चैत ३० बुधवार ०६:३१

काठमाडौं । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले चुनावी तालमेलको मोडालिटी टुंग्याएको छ। गठबन्धनले टुंग्याएको मोडालिटी अनुसार महानगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुखको सिट बाँडफाँटको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्नेछ।यस्तै नगरपालिका र गाउँपालिकाको क्रमशः प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको तालमेलसम्बन्धी सिट बाँडफाँटको आवश्यक निर्णय गरी वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउनेछ।
महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका वडाध्यक्ष तथा सदस्यहरूको सिट बाँडफाँटको निर्णय जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने निर्णय भएको संचारमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भएको छ । त्यस्तै सत्ता गठबन्धनले तत्कालीन नेकपा एमालेबाट स्थानीय तहमा विजयी भएका र हाल नेकपा एकीकृत समाजवादीमा रहेका जनप्रतिनिधिका लागि ती स्थान छाड्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले एमालेबाट एकीकृत समाजवादी रोजेका स्थानीय तहका जनप्रतिनिधिलाई त्यसै अनुसार मान्ने निर्णय गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भएको छ ।
वि.सं.२०७८ चैत ३० बुधवार ०६:३१
















