skip this

 मकवानपुरको चिसापानी गढीमा भयावह ईभी दुर्घटना : मृतकको संख्या १४ पुग्यो, ६ जना घाइते

111 shares
oil-nigam-amlekhgunj-adv.jpeg

मकवानपुर-मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको भीषण ईभी गाडी दुर्घटनामा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनाको समयमा चालकसहित २० जना गाडीमा सवार थिए। बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी अनियन्त्रित भई सडकबाट करिब ७०० मिटर तल खसेको थियो।

दुर्घटनामा ज्यान गुमाएका १४ जनामध्ये ११ जनाको शव हेटौंडा अस्पताल ल्याइएको थियो। दुर्घटनास्थलमा खोज तथा उद्धार कार्य जारी रहने क्रममा थप तीन जनाको शव फेला परेको डीएसपी थापाले जानकारी दिएका छन्। फेला परेका तीन जनाको पहिचान भने खुल्न बाँकी छ।

मृत्यु हुनेमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका सुवेक यादव (२५/२६), शिक्षा यादव (८), दिपिका कुमारी यादव (४), सुवोध यादव (२५), अनु राय यादव (११), रोहन यादव (१५), राम दुलार राय यादव (२७), गुड्ड राय यादव (३०), गायत्री देवी यादव (२७) र पुनम यादव (२७) रहेका छन्।

त्यस्तै, सर्लाहीको कबिलासी नगरपालिका–८ का ३० वर्षीय गाडी चालक रवि शंकर कुमार मण्डलको पनि दुर्घटनामा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि हेटौंडा अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा चक्रघट्टा–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र यादव रहेका छन्।

अन्य तीन घाइतेलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ। रिफर हुनेमा तीन वर्षीय सुजन यादव, ३१ वर्षीय देवेन्द्र राय यादव र १६ महिनाका सुदिप यादव रहेका छन्। उनीहरूमध्ये देवेन्द्र राय यादवको अवस्था गम्भीर रहेको छ भने अन्य दुई जनाको अवस्था मध्यम रहेको जनाइएको छ।

दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।

nijgadh-supermart-adz1200-630